चिनियाँ प्रविधिमा अमेरिकी प्रतिबन्ध


     नेपालय न्युज,     
     साउन २८ गते २०८०


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् ।

यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले प्रतिबन्धको घोषणा गरेका हुन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्नसक्ने अधिकार प्रदान गरेको छ ।

प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ । बाइडेन प्रशासनले यो आदेश विशेषगरी तीनवटा संवेदनशील क्षेत्रतर्फ मात्रै लक्षित रहेको स्पष्ट पारेको छ ।

चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन गरेको प्रयत्नमा अमेरिकी पुँजी र विज्ञताले सघाउन सक्ने आँकलन गर्दै सो कार्य रोक्नका लागि यस्तो आदेश जारी गर्नुपरेको अमेरिकी अधिकारीहरूको दाबी छ ।

यो आदेशले तोकिएका क्षेत्रमा हुने निजी, साझेदारी, भेन्चर पुँजी तथा ग्रीनफिल्ड लगानी समेतलाई प्रभावित गर्नेछ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com