
काठमाडौं, साउन १४ गते। संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘पर्सीबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वभर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ।’’
साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ।