
वाशुदेव मिश्र,
मनाङ ‘ख’ बाट निर्विरोध गण्डकी प्रदेश सांसद बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले गएको मंसिर १९ गते नेकपा (एकीकृत समाजवादी) प्रवेशको घोषणा गरे।
सोही दिन उनलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माला पहिर्याएर पार्टी प्रवेश गराए।
अपराधिक पृष्ठभूमिबाट राजनीतिका आएका, मनाङबाट दुईपटक सांसद भइसकेका र गण्डकी प्रदेशको मन्त्रीसमेत भएका मनाङले सोही दिन प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘राजनीति कमाउनको लागि होइन, सेवाभावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिने कार्य हो। यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र दायित्व हो।’
उनले त्यो पवित्र उद्धेश्यसँग मेल खाने, नीति, सिद्धान्त र विचार बोकेको पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गर्दै भने, ‘त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु।’
मंसिर ४ को निर्वाचनअघि नै मनाङे निर्विरोध सांसद बनिसकेका थिए।
गण्डकी प्रदेशमा एकीकृत समाजवादीका एउटा पनि सांसद नभएको अवस्थामा उनको एकीकृत समाजवादी प्रवेशलाई पुनः मन्त्री बन्ने चाहनासँग जोडेर हेरियो।
चुनावी मोर्चामा सँगै रहेका नेपाली कांग्रेसले २७, माओवादी केन्द्रले ८ ठाउँबाट विजय प्राप्त गरेको अवस्थामा बन्ने सरकारमा एकीकृत समाजवादी अटाउने सम्भावना पनि देखिएकै थियो।
तर, एकाएक राष्ट्रिय राजनीतिको समीकरण फेरिएपछि गण्डकीमा २२ सिट भएको एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बने।
उनलाई माओवादीसहित २ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि साथ दियो। त्यो बेला मनाङे प्रतिपक्षकै बेञ्चमा बसे।
सत्ता समीकरण फेरियो। संघ सरकारबाट एमाले बाहिरिएपछि यहाँ वैशाख १४ गते गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वमा सरकार बन्यो।
सो सरकारमा एकीकृत समाजवादीको तर्फबाट राजीव गुरुङलाई पनि सामेल गराउनुपर्ने दबाब बढ्यो। तर, खगराजले मन्त्रालयको संख्या घटाएर ७ वटामा सीमित भएको र कांग्रेस र माओवादी केन्द्रको सांसद संख्या ३४ (माआवादीको तर्फबाट सभामुख बनेका कृष्ण धितालबाहेक) पुगेकाले पाण्डेले एकीकृत समाजावादीका नेता मनाङेलाई मन्त्री बनाएनन्।
मनाङे ‘माननीय सांसद’मै सीमित रहे।
एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरुले धमाधम पार्टी छाडिरहँदा उनले अध्यक्ष माधवकुमार नेपाललाई साथमात्र दिएका छैनन्, संगठकको रुपमा आफूलाई प्रस्तुत गरेका छन्।
सोमबारमात्रै उनले सामाजिक सञ्जालमार्फत् अध्यक्ष नेपालकै उपस्थितिमा एकीकृत समाजवादी मनाङ–काठमाडौं मञ्च गठन भएको जानकारी दिएका छन्।
काठमाडौंस्थित स्टार बैंक्वेट स्वयंभूमा भएको सम्मेलनमा सुटेडबुटेड मनाङेसँगै मञ्चमा रहेका माधवकुमार नेपाल प्रफुल्ल मुद्रामा देखिन्छन् भने उनलाई अन्य नेताहरुले पनि साथ दिएका छन्।
मनाङेले फेसबुकमार्फत् दिएको जानकारी अनुसार पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्त, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष जगन्नाथ अधिकारी,समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेल, तनहुँ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रामहरि पाण्डेलगायतका नेताहरू उपस्थित थिए।
सम्मेलनले ज्यामयाङ टासी गुरुङको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको छ।
नवगठित कमिटीको उपाध्यक्षमा अमृत लामा वाईवा , सचिवमा सेमीना गुरुङ रहेका छन् भने सदस्यहरुमा रविना गुरुङ,राजा गुरुङ, सम्फेल गुरुङ ,विजय गुरुङ ,छिरीङ टासी गुरुङ , डोल्मा गुरुङ , विजय गुरुङ (चामे), कर्मा डोल्मा गुरुङ , मुखिया गोदामे र मिग्मार गरुङ रहेका छन्।
सासंद तथा नेता मनाङले मनाङ– काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी र कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन्।
नेपालखबरबाट