
काठमाडौं, साउन १५ गते । काठमाडौं उपत्यकामा सार्वजनिक विशेष बस सेवा सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुभएको छ ।
सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री ‘प्रचण्ड’ले सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलगायतका निकायसँग बहुपक्षीय छलफल गर्नु भएको हो ।
सो अवसरमा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र सार्वजनिक विशेष बस सेवा सञ्चालनबारे छलफल भएको थियो । छलफलमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराउनु भएको छ ।
सार्वजनिक विशेष बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई लक्ष्य गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन पनि दिनु भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।