नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष- खहरेबाट बिजुली निकाल्न सकिँदैन

-


     नेपालय न्युज    
     असार ३० गते २०८०


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन्। पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए।

उनले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए। उनले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गरे।

‘कतिले भन्दै गर्दा अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरुले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो। हाम्रा धर्मशास्त्र, संस्कृतिहरु पनि पुराना हुन्। यो देश आफैँमा पनि पुरानो हो। पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन। निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन,’ उनले भने।

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको पनि बताए। उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम सुरु हुने बताए।

‘नेपाली कांग्रेस पार्टी आज अझै बलियो बन्नुपर्नेछ। नेपाली कांग्रेस पार्टी विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकतावद्ध बन्नुपर्ने बेला छ। त्यसैले सबै साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु। नेपाली कांग्रेसको साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्छ,’ उनले भने, ‘राष्ट्रव्यापी रुपमा अभियान घोषणा गर्छ। विभाग गठनको प्रक्रिया सुरु गर्छ, त्यो पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम सुरु गर्छ,’ उनले भने।

महामन्त्री शर्माले कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजबिरुद्धको विधेयकमाथि चुनौति आउन लागेको भन्नेकुरा राखेको भन्दै मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए।

उनले सबैखालका चुनौतिलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने बताए।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com