एमालेले ६ महिनामै गुमायो केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार

-


     नेपालय न्युज    
     असार १५ गते २०८०


गत पुस २४ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले पनि शुक्रबार विश्वासको मत नपाएपछि एमाले संघ र प्रदेश दुवैतर्फ प्रतिपक्षमा पुगेको छ।

२०७९ पुस १० गते बनेको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति चुनावसम्म आइपुग्दा भंग भएर एमाले चाँडै सत्ताबाहिर पुगेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय मोर्चामै फर्किएसँगै संकट बढेको थियो।

मा‌ओवादीले मंसिर ४ को चुनावअघिकै गठबन्धनमा फिर्ता हुने निर्णय गरेपछि आफ्नो भाग परेको राष्ट्रपति पनि एमालेले गुमाएर कांग्रेसको भागमा परेको थियो।

त्यहीकारण एमालेले यसअघि नै लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको छ।

लुम्बिनीमा अहिले पुरानै गठबन्धनअनुसार नेपाली कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री छन्। गण्डकीमा पनि कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन्।

उता सुदूरपश्चिममा पनि एमालेका रावलको सत्ता गुमेपछि कांग्रेसका कमल शाहले अहिले सरकारको नेतृत्व गरिरहेका छन्।

यसअघि नै गत फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट पनि फिर्ता भएको थियो। ९ मन्त्रीसहित केन्द्रीय सरकारमा गएको एमाले दुई महिनाबीचमा संघीय संसद्‍को प्रतिपक्षमा पुगेको थियो।

यस्तोमा लुम्बिनीबाट लीला गिरी, गण्डकीबाट खगराज अधिकारी र सुदूरपश्चिमबाट राजेन्द्र रावलले केही महिनामै मुख्यमन्त्रीबाट हात धुनुपरेको थियो।

उता प्रदेश १ मा भने हिक्मत कार्कीले आफ्नो सत्ता ६ महिनासम्म लम्ब्याउन सके। तर नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्की पनि शुक्रबारबाट सत्ताबाट बाहिरिएका छन्।

यससँगै संघीय सरकारको दोस्रो ठूलो र अधिकांश प्रदेशमा बलियो पडक भए पनि एमाले अब प्रतिपक्षी बेन्चमा पुगेको छ। नेपालखबरबाट

 

WP2Social Auto Publish Powered By : XYZScripts.com