यति कमजोर कहिल्यै भएका थिएनन् पुटिन

- रुसको आन्तरिक लडाइँबाट युक्रेनलाई कति फाइदा?

-


     नेपालय न्युज    
     असार ९ गते २०८०


लुक हार्डिङ,

यव्गेनी प्रिगोजिन महिनौँदेखि नाटकीय रुपमा रुसी सेनाको नेतृत्वविरुद्ध खनिइरहेका थिए। उनले रक्षामन्त्री सेर्गेइ सोइगु र सेनाप्रमुख भेलेरी गेरासिमोभमाथि आक्रमण गरिरहेका थिए। उनीहरु युक्रेन युद्ध सञ्चालनमा अक्षम रहेको उनको भनाइ थियो।

एउटा भिडिओमा प्रिगोजिनले वाग्नर ग्रुपका सैनिकहरुको मृत्युका लागि रुसी सेनालाई दोष दिए। भिडिओमा तिनको लास प्रिगोजिनको पछाडि थुपारिएको देखिन्थ्यो। एउटा चिठीमा प्रिगोजिनले रक्षामन्त्री सोइगुलाई युद्धको अग्रमोर्चा भ्रमण गरेर देखाउन चुनौती दिएका थिए। त्यसबेला बाखमुतमा वाग्नर लडाकुहरु लडिरहेका थिए, मरिरहेका थिए।

प्रिगोजिन र सोइगुबीचको यो कलह साँच्चै होजस्तो देखिन्छ। तर, पुटिनको अस्पष्ट शासनमा यसै हो भन्न कठिन छ। दुई दशकभन्दा लामो समय पुटिनले क्रेमलिनको एक महत्वाकांक्षी खेमालाई अर्को खेमासँग भिडाएर आफूले सर्वोच्च मध्यस्थकर्ताको भूमिका खेल्दै आएका छन्।

यो फुटाऊ र शासन गरको पुरानो दाउपेच हो। प्रिगोजिनले विगतमा आफूलाई पुटिनको वफादार सहयोगी पुष्टि गरेका थिए। २०१६ मा अमेरिकी चुनावमा भाँजो हाल्नेलगायतका राज्यका खास कामकारबाहीको जिम्मा उनलाई दिइन्थ्यो। तर, सोइगुविरुद्ध प्रिगोजिनको कटु सार्वजनिक आलोचना शीर्षस्थ नेताकै इसारामा चलिरहेको छ भन्ने तर्क एकथरीले गर्छन्।

पछिल्लो एक दिनको नाटकीय घटनाक्रमले भने यदि त्यस्तो कुनै सम्झौता थियो भने पनि भंग भएको देखाउँछ। प्रिगोजिन तत्काल सोइगुलाई हटाइनुपर्ने मागमा अडिग छन्। त्यस्तै सम्पूर्ण सैन्य नेतृत्व बदल्नुपर्ने उनको माग छ।

रुसले कब्जा गरेको युक्रेनी भूमिबाट वाग्नर ग्रुपको हतियारबद्ध टुकडी बिना अवरोध रुसभित्र प्रवेश गरेको छ। वाग्नरले रोस्तोव अन दोनस्थित रुसको साउदर्न मिलिट्री डिस्ट्रिक्टको मुख्यालय कब्जा गरेको छ। जुन युक्रेन युद्ध सञ्चालनका लागि बन्दोबस्तीको महत्वपूर्ण केन्द्र हो।

आत्तिएका रुसी जर्नेलहरुले प्रिगोजिनलाई पछि हट्न र कू नगर्न आग्रह गरेका छन्। मस्कोको सडकमा बख्तरबन्द गाडी कुदिरहेका छन्। रक्षा मन्त्रालय र सरकारी कार्यालयको सुरक्षार्थ नेसनल गार्ड खटाइएको छ।

यो असाधारण दृश्यले पुरानो स्मृति जगाएको छ। १९९१ को गर्मीमा केजीबीका कट्टरपन्थीहरुले कूको असफल प्रयास गरेका थिए। भत्किँदै गएको कम्युनिस्ट शासन जोगाउने उनीहरुको प्रयास थियो। तर, त्यो योजना भताभुंग भयो। बरु, यसले सोभियत संघको पतनलाई अझ तीव्र पा¥यो र केही महिनामै सोभियत संघ ढल्यो।

यो इतिहास दोहोरिन्छ, कि दोहोरिँदैन, अहिले नै भन्न हतार हुन्छ। प्रिगोजिन शान्तिकामी होइनन्। उनी त युक्रेनविरुद्ध अझ कठोर लडाइँ लड्नुपर्ने पक्षमा छन्। चुस्त सैन्य नेतृत्व, ज्यादा इमानदारी र कम सैनिक क्षतिमा लडाइँ लड्नुपर्ने उनको भनाइ छ।

सोइगुले रुसको क्षतिलाई ढाकछोप गरेको आरोप प्रिगोजिनले लगाएका छन्। गतवर्ष खेर्सनलगायत क्षेत्रबाट सेना पछि हटाउने निर्णयसँग पनि उनी बेखुस थिए।

शुक्रबारको आश्चर्यजनक नाटकको नतिजा जेसुकै होस्, सन् २००० मा राष्ट्रपति बनेयता पुटिन इतिहासमै यति कमजोर कहिल्यै देखिएका थिएनन्। युक्रेनमाथि आक्रमण गर्ने उनको निर्णय भयंकर रणनीतिक भूल साबित भएको छ। यो उनको जीवनकै ठूलो भूल थियो, जसले ढिलोचाँडो उनलाई सत्ताबाट गलहत्याउन सक्छ।

शनिबार बिहान पुटिनले टीभीमा सम्बोधन गरे। उनले वाग्नरमाथि देशद्रोहको आरोप लगाए र मस्कोमा आतंकवादविरोधी शासन लागू गरे।

यो विद्रोह चाँडै असफल भयो भने पनि यसको धक्का महिनौँसम्म महसुस भइरहनेछ। जसले राजनीतिक अस्थिरता बढाउनेछ नै, शासनमा पुटिनको निरन्तरतामाथि पनि प्रश्न उठाउनेछ। पुटिनको म्याबेथ नाटकसमान शासनको हामी पाँचौँ अंक हेरिरहेका छौँ।

यी सबै घटनाले युक्रेनका लागि पनि अत्यन्तै महत्वपूर्ण र रोचक सम्भावनाहरुलाई जन्म दिन्छ। वाग्नर फौज रुसले कब्जा गरेको लुहान्स्क र दोनेस्क क्षेत्रमा खटिएको थियो। कतिपय त गएको २४ घण्टाभित्रै तैनाथीको स्थानबाट फर्केका छन्। युक्रेनी सेनाले बाखमुतका कयौँ बस्ती पुन कब्जा गरेको खबरहरु आइरुहेका छन्। जहाँ महिनौँ भीषण लडाइँ भएको थियो।

लडाइँमा रुसको नियमित सेनाभन्दा प्रिगोजिनको स्वयंसेवक र जेलमुक्त गरिएका कैदीहरुको निजी भाडाको सेना बढी अनुशासित र सफल देखिएको थियो। अब वाग्नर दृश्यबाट गायब हुँदैछ।

जुनमा युक्रेनले बहुप्रतीक्षित प्रत्याक्रमण सुरु गरेको थियो। आक्रमणमा उसले पश्चिमा हतियार र ट्यांक प्रयोग गरेको छ। जसको लक्ष्य हो, क्रिमियासहित पूर्वी दोनबास, दक्षिणी खेर्सन र जापोरिजाका रुसले कब्जा गरेको भूमि फिर्ता गर्नु।

तर, युक्रेनले खास प्रगति गर्न सकेको थिएन। रुसी सेनाले जमिनमा धराप थापेको थियो, ट्यांकप्रतिरोधी सुरुङहरु बनाएको थियो। युक्रेनविरुद्ध आफ्नो गतिलो हवाई र तोप शक्ति पनि प्रयोग गरेको थियो। कतिपय विश्लेषकहरुले युद्ध गतिरोधतर्फ अघि बढेको बताउन थालेका थिए।

तर, प्रिगोजिनको कदमले यो हिसाबकिताब बदलिदिएको छ। रुसी सेनालाई चानचुने ठान्नु मूर्खता हुन्छ। तर, यही बर्खामा युक्रेनी फौजले ठूलो सफलता हात पार्ने सम्भावना भने नाटकीय रुपमा बढेको छ। यदि अग्रमोर्चामा रुसी सेनाको हिम्मत टुट्यो र सैनिकहरु लड्न मानेनन् भने युक्रेनले चाँडो जमिन कब्जा गर्न सक्छ।

समग्र युक्रेनलाई कब्जा गर्ने र रुसमा पुनर्एकीकरण गर्ने पुटिनको सपना सफल भएन। बरु यो तानाशाहको दिवास्वप्नमा परिणत भएको छ। यो खराब गुप्तचरी, अन्धविश्वासयुक्त सोच र महामारीमा पुटिनको चरम ऐकान्तिकताको परिणाम हो। किभमाथि रुसको विजय पहिलेभन्दा टाढा भएको देखिन्छ।

(द गार्डियनबाट)

WP2Social Auto Publish Powered By : XYZScripts.com