
अमेरिकी खर्बपति व्यापारी एलन मस्क आफ्नो स्टारलिंक सेटलाइट ब्रोडब्यान्ड भारत ल्याउन उत्सुक छन् । विश्वका सबैभन्दा धनी मस्कसामु एशियाका सबैभन्दा धनी मुकेश अम्बानी तगारो बनेका छन् ।
भारतीय भिमकाय दूरसञ्चार कम्पनी रिलायन्स जियो अम्बानीको कम्पनी हो । मंगलबार अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि मस्कले आफू भारतमा स्टारलिंक लञ्च गर्न अति नै इच्छुक रहेको बताएका थिए । स्टारलिंक इन्टरनेटको पहुँच नपुगेको अनि उच्च गतिको सेवा नपाइने भारतको विकट गाउँहरुका लागि अनि नै उपयोगी हुने मस्कको भनाई छ ।
भारत सरकारले बाँड्ने सेटलाइट ब्रोडब्यान्ड स्पेक्ट्रमको मामिलामा स्टारलिंक र रिलायन्स के कुरामा बाँझिए ? स्टारलिंकले भारतलाई स्पेक्ट्रमको लिलाम विक्री नगर्न फकाइरहेको छ । अन्तरराष्ट्रिय स्तरमा चलनचल्ती भए जस्तै स्पेक्ट्रमको लाइसेन्स बाँड्न भनिरहेको छ । यो प्राकृतिक संसाधन भएको अनि यसलाई कम्पनीहरुले बाँडेर चलाउनु पर्छ भन्ने स्टारलिंकको धारणा छ ।
लिलामीले भौगोलिक प्रतिबन्ध लगाउने अनि खर्च पनि बढाउने कम्पनीको भनाई छ । तर यो कुरा रिलायन्सले मानेको छैन । सरकारसँग रिलायन्सले लिलाम बढाबढ खोल्न भनेको छ । विदेशी सेटलाइट कम्पनीहरुले भ्वाइस र डेटा सेवा दिएर परम्परागत दूरसञ्चार कम्पनीहरुसँग प्रतिस्पर्धा गर्ने चिन्ता रिलायन्सको छ । घरेलु कम्पनीहरुलाई खेल्न बराबरको ठाउँ हुनु पर्ने रिलायन्सको तर्क छ ।
यस मामिलामा स्टारलिंक र रिलायन्सको मतभेद चुँलिदैं गइरहेको छ । रिलायन्सले भारत सरकारलाई सेटलाइट स्पेक्ट्रमको लिलामीको लागि झकझकाइरहेको स्रोतहरुले बताइरहेका छन् । विदेशी कम्पनीहरुको कुरा नमान्न पनि भनिरहेको बताइएको छ । मस्कले सन् २०२१ मै भारतमा स्टारलिंक लञ्च गर्न खोजेका थिए । तर मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको कारखाना बनाउने कुरा चलिरहँदा मस्कलाई अधिकारीहरुले स्टारलिंक लञ्च गर्ने अनुमति दिएनन् ।
भारतको दूरसञ्चार बजारमा रिलायन्स जियो प्रयोगकर्ता संख्याका आधारमा सबैभन्दा ठूलो कम्पनी हो । यसका झन्डै ४४ करोड प्रयोगकर्ता छन् । वायर्ड ब्रोडब्यान्ड कनेक्शन बजारको एक चौथाई हिस्सा पनि यसकै पोल्टामा छ । यस्तोमा विदेशी कम्पनी घरेलु बजारमा छिर्नु भनेको प्रतिस्पर्धा चर्किएर अम्बानीको कम्पनीको बजार हिस्सा गुम्नु हो । डेलोइटका अनुसार भारतको सेटलाइटठ ब्रोडब्यान्ड बनार सन् २०३० सम्ममा ३६ प्रतिशतले बढेर १ अर्ब ९० करोड डलरमा पुग्नेछ ।
लिलाम बढाबढले लागत र लगानी दुबै बढाउने चिन्ता विदेशी सेटलाइट इन्टरनेट कम्पनीको छ । भारतले लिलामीको प्रक्रियाबाट गयो भने वनवेबलाई भारतमा व्यवसाय गर्न गाह्रो हुनेछ । भारतको स्पेक्ट्रम बाँडफाँडबारे स्पष्ट भएर मात्रै स्टारलिंकले आफ्नो व्यवसायिक रणनीति बनाउने खोजेको बुझिएको छ । एजेन्सी