
पोखरा । पर्यटकीय नगरी पोखरामा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस महोत्सव’ शुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे ।
महोत्सवअन्तर्गत फेवाताल किनारमा ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल र चीनका चार-चार टोली सहभागी छन् । प्रतियोगितामा देशका सातै प्रदेश र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ ।
प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो दिन दुई सय मिटर र दोस्रो दिन पाँच सय मिटर गरी आठओटा बोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
महोत्सवका लागि बुधवार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट आएका थिए । नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन् । यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ ।
प्रतियोगितामा प्रयोग गरिने बोट चीनबाट ल्याइएको हो । प्रतियोगिताका लागि चाहिने सामग्री पनि चीनबाट ल्याइएको थियो । उक्त सामग्री केरुङ नाका हुँदै भित्र्याइएको थियो । रासस