एकअर्कासँग भिड्दैछन् मस्क र जुकरबर्ग

-


     नेपालय न्युज    
     असार ७ गते २०८०


प्रविधि जगतका धुरन्धर हुन् मार्क जुकरबर्ग र एलन मस्क । यी दुईको नाम नसुन्ने व्यक्ति कमै होलान् । यी दुई एक अर्कासँग ‘केज फाइट’मा भिड्ने भएका छन् ।

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ मस्कले अखाडामा आफूसँग भिड्न दिएको चुनौतीलाई सामाजिक सञ्जाल कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गले स्वीकारेका छन् । मस्कको ट्विटलाई आफ्नो स्टोरीमा राखेर जुकरबर्गले उनलाई लड्ने ठाउँको लोकेशन पनि पठाउन भनेका छन् ।

फेसबुक, इन्ष्टाग्राम र हुवाट्सएपको मातृ कम्पनी मेटाले हालै मात्रै ट्विटर जस्तै टेक्स्टमा आधारित सोशल मिडियो प्लेटफर्म लञ्च गर्न सक्ने बताएको थियो । नयाँ मञ्चको नाम थ्रेड्स हुने बताइएको छ । मस्कले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता नै मेटाले प्रोजेक्ट ९२ नाम दिएर यसमा काम गरिरहेको थियो ।

सामाजिक सञ्जाल जगतमा जुकरबर्ग र मस्कबीच घम्साघम्सीसम्बन्धी एक ट्विटमा कमेन्ट गर्दै मस्कले ‘जुकरबर्ग चाहान्छन् भने आफू केज फाइटका लागि तयार रहेको’ उल्लेख गरेका थिए । सोही ट्विटको स्क्रिनशट आफ्नो स्टोरीमा राखेर जुकरबर्गले ‘म आउनु पर्ने ठाउँको नाम पठाउँ’ भनेका थिए ।

जुकरबर्गले ख्यालख्यालमा त्यस्तो नभनेको अनि उनी यस विषयमा गम्भीर रहेको भन्दै ‘द भर्ज’ले एक समाचारमा भनेको थियो । सोको जवाफमा मस्कले ‘भेगास अक्टागन’ लेखेका थिए । दुवै जना तयार भए भने लास भेगासमा मस्क र जुकरबर्गबीच दरो लडाई देख्न पाइएला त ?

वास्तविक जीवनमा जुकरबर्ग फाइटर हुन् । उनी मिश्रित मार्सल आर्ट्सका खेलाडी हुन् । उनले हालै अमेच्योर ब्राजिलियन जु–जुत्सु प्रतिस्पर्धा जितेका थिए । साउथ अफ्रिकामा रहँदा आफूले स्ट्रिट फाइट गरेको दाबी मस्कले बारम्बार गरेका छन् । दुवै जनाबीच अखडामा भेट होला त ? यदि भयो भने कसले जित्ला ? यो भने भविष्यले नै बताउँला । अहिलेका लागि दुवैजना वाकयुद्धमा व्यस्त छन् ।

जुकरबर्गले बारम्बार ट्विटरको आलोचना गर्दै आएका छन् । मस्कले ट्विटर किन्नुलाई पनि उनले राम्रो मानेका छैनन् । ट्विटरको प्रयोगकर्ता १ अर्बभन्दा माथि पुग्ने सम्भावना भएको तर त्यस्तो नभएको जुकरबर्गको ठम्याइ छ । यसैले गर्दा उनले ट्विटरको विकल्प ल्याउन लागेका हुन् भन्ने विश्लेषण आइरहेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com