
एडवर्ड लुस,
राजनीति यहाँभन्दा सरल हुँदैन। आउँदो चुनावमा अमेरिकी मतदाताहरुसामु रोज्नका लागि सम्भवतः दुई विकल्प हुनेछन्– एक आपराधिक प्रतिवादी, जसले आफूलाई मुद्दा लगाउनेसँग प्रतिशोध साँध्ने कसम खाएका छन्। र, अर्को एक व्यक्ति। यो कानुनी शासनका विषयमा जनमतसंग्रह हुनेछ।
ती दुईमध्ये पहिलो व्यक्तिले जिते भने सम्भवतः आफूमाथि लागेका अनेकौँ आपराधिक आरोपका लागि उनी जेल जानुपर्ने छैन। दोस्रोले जिते भने पहिलो व्यक्ति जेल जाने सम्भावना अत्यधिक छ। यदि लोकतन्त्रलाई एउटा क्रुर टेलिभिजनको रियालिटी शोमा सीमित गर्न सकिन्छ भने यो त्यही शो हो। र, निस्सन्देह, डोनाल्ड ट्रम्पलाई त्यो शो मन पर्छ।
ट्रम्पले चुनाव जिते भने उनले न्यायिक संयन्त्रलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्लान् कि नगर्लान्? प्रश्न यो होइन। उनले त बारम्बार घोषणा गरेकै छन् कि कानुनलाई उनले बदलाको हतियार बनाउनेछन्। उनको यो कुरा पत्याउन उचित हुन्छ।
प्रश्न के हो भने जेलबाहिर रहन ट्रम्प कहाँसम्म जान तयार होलान्? उनीसँग गुमाउनलाई केही पनि छैन। यस्तो भुतको सामना दोस्रो व्यक्ति अर्थात् जो बाइडेनले गरिरहेका छन्।
अधिकांश अमेरिकीहरुले कुनै पनि आपराधिक आरोप नबेहोरी जीवन बिताउँछन्। कतिपयलाई अति सानातिना आरोप लाग्छन्। तर, ट्रम्पविरुद्ध दुई वटा अभियोग पत्रमा ७१ वटा आरोप लागेको छ। जसमध्ये एक अभियोग हो, पोर्नस्टारलाई चुप लगाउन सरकारी रकम भुक्तानी र अर्को हो, अति गोप्य कागजात लुकाएको आरोप। सिद्धान्ततः उनी सयौँ वर्ष जेल पर्न सक्छन्।
६ जनवरी २०२१ मा दंगा गरेर अमेरिकी लोकतन्त्र भत्काउने कोसिस गरेकोदेखि लिएर जर्जियामा चुनावी नतिजा उल्ट्याउने कोसिस गरेकोसम्मका आरोपहरुमा अनुसन्धान पूरा भइसकेपछि उनीविरुद्ध दर्ता हुने अभियोग पत्रको संख्या एक सय नाघ्न सक्छ।
यदि कुनै खुला समाजले त्यस्तो उम्मेदवारलाई जिताउँछ भने त्यो आश्चर्यको कुरा हो। तर, त्यस्ता थुप्रै उम्मेदवारले जितेका छन्। इटलीका भर्खरै दिवंगत नेता सिल्भियो बर्लुस्कोनीलाई हेरौँ। उनले अदालतको चक्कर काटेर दशकौँ बिताए, चुनाव पनि जितिरहे। अथवा, इजरायलका बेन्यामिन नेतन्याहुलाई हेरौँ, जो अदालत धाउनुका दुःखले स्वतन्त्र न्यायपालिकालाई नै खारेज गर्न चाहन्छन्।
यस्ता नेताहरुले आफ्नो वरिपरि एउटा सम्प्रदाय निर्माण गर्छन्। जसको विचारधारासँग कुनै सरोकार हुँदैन। त्यसको सरोकार त उनीहरु जीवित रहन केसम्म गर्न तयार छन् भन्नेमा हुन्छ। आफू उत्पीडित भएको महसुस उनीहरु गर्छन्।
हरेक अभियोगसँगै रिपब्लिकनहरुमाझ ट्रम्पको समर्थन झन् किन बढ्छ, यसले स्पष्ट पार्छ। कुनैकुनै सर्वेक्षणमा त ट्रम्प अरु सबै उम्मेदवारको जम्मा मतभन्दा पनि अगाडि देखिन्छन्। बाइडेनले आफूविरुद्ध न्यायप्रणालीलाई हतियारका रुपमा प्रयोग गरेको ट्रम्पको आरोप छ। त्यसैलाई दोहोर्याएर उनका अरु विपक्षीहरुले ट्रम्पलाई झन् बलियो बनाउने काम गरेका छन्।
ट्रम्पलाई निरन्तर आक्रमण गरिरहनेमा न्यु जर्सीका पूर्वगभर्नर क्रिस क्रिस्टी एक मात्र हुन्। उनको कुरा कसैले सुन्छ, सुन्दैन, देखिन बाँकी छ। उनले यही साता भनेका छन्, ‘यो देशलाई के गरिँदैछ भन्ने बारेमा ट्रम्पलाई वास्ता छैन। उनी खाली बिचरा म, पीडित म मात्र भन्छन्।’
ट्रम्पको कानुनी झमेलाले पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारमा उनको मनोनयन हुने सम्भावना अझ बढाउँछ। अर्कोतिर त्यसले चुनावमा उनी विजयी हुने सम्भावना भने घटाउँछ। पहिलो कुरा निश्चित छ। दोस्रोमा केही सन्देह छ।
२०१६ र २०२० दुवै पटक ट्रम्पले बारम्बार चुनावमा आफूविरुद्ध धाँधली हुने बताए। २०१६ मा उनको प्रतिष्ठा मात्र दाउमा थियो। उनले इलेक्टोरल कलेजमा जित हात पारे पनि पपुलर मत हिलारी क्लिन्टनले जितेकोमा उनको अहं घाइते भयो। उनले त चुनावमा फर्जी मत हालिएको भन्दै निष्फल अनुसन्धान पनि गराए।
तर, व्यक्तिगत रुपमा २०२० मा ट्रम्पको दाउ अघिल्लो पालिभन्दा ज्यादा थियो। किनभने उनीमाथि त्यसअघि नै महाभियोग लागिसकेको थियो र उनी अनेकौँ छानबिनको सामना पनि गरिरहेका थिए। खासगरी उनको व्यावसायिक मामिलामा।
तर, यी सबै उनले गोप्य कागजातहरुको दर्जनौँ बाकस आफ्नो घर मार ए लागोमा सुटुक्क लैजानुअघिको कुरा थियो। जसले गर्दा यसैसाता मायामीमा उनीविरुद्ध अभियोग दायर भयो। न त त्यतिबेला उनलाई बाइडेनको जित अनुमोदन हुन नदिन क्यापिटल हिलमा दंगा मच्चाएको आरोप नै लागेको थियो। यो जर्जियाका चुनावी अधिकारीहरुलाई नतिजा बदल्न उनले जोड दिनुअघिको कुरा थियो।
जे भए पनि आफू उम्मेदवार भएका दुवै चुनावमा ट्रम्पले अमेरिकी मान्यताहरुलाई भत्काए। २०१६ मा उनको क्लिन्टनविरुद्धको नारा थियो, ‘यिनलाई थुन।’
अहिलेसँग तुलना गर्दा ती दिनहरु मामुली लाग्छन्। आफूलाई जेलबाहिर राख्दा ट्रम्प कुन हदसम्म जालान्? उनले के चाहिँ गर्दैनन् भनेर जान्न असम्भव छ।
सकारात्मक पक्ष के छ भने बहुसंख्यक अमेरिकी मतदाताहरुलाई आपराधिक अभियोगका कारण ट्रम्प पुनः चुनाव लड्न अयोग्य भए भन्ने विश्वास छ। नकारात्मक पक्ष २०१६ मा पनि ट्रम्पको चरित्र र तरिका मतदातामाझ बिल्कुल रहस्य चाहिँ थिएन।
आधुनिक समयका अधिकांश अमेरिकी चुनावमा दुवै उम्मेदवारको जितको सम्भावना आधाआधा हुन्छ। तर, इलेक्टोरल कलेजको बनोटका कारण फेरि ह्वाइट हाउस प्रवेश गर्न ट्रम्पलाई करिब ४७ प्रतिशत मत भए पुग्छ। यदि त्यसो भए त्यो उनलाई जेलबाहिर राख्ने र अमेरिकाको अन्तिम संस्कारको टिकट दुवै हुनेछ।
(फाइनान्सियल टाइम्सबाट)