माधवको पनि प्रधानमन्त्री बन्ने सपना !


     नेपालय न्युज,     
     जेठ ३१ गते २०८०


प्रचण्डलाई प्रधानमन्त्री पदबाट विस्थापित गर्न केपी ओलीले आक्रामक तयारी गर्नुभएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफैं प्रधानमन्त्री बन्न पाउनुपर्ने सङ्केत दिनुभएको छ । उक्त पार्टीलाई एमालेमा विलय गराउने, विलय गराउन नसकेको अवस्थामा दसमध्ये कम्तिमा पाँच सांसदलाई एमालेमा भित्र्याउने योजना केपीले बनाउनुभएको बुझिन्छ ।

केपी सकेसम्म माधवलाई एमालेमा फर्काउन इच्छुक हुनुहुन्न, माधवले आफै प्रधानमन्त्री या एमालेको अध्यक्ष बन्न पाएको अवस्थामा मात्र एकीकरण हुनसक्ने सन्देश पठाइदिएपछि ओली झस्किनुभएको छ । त्यसपछि ओलीले माधवका बढी भन्दा बढी सांसदलाई एमालेमा फर्काउने योजनाका साथ गृहकार्य गरिरहनुभएको छ ।

उता एकीकृत समाजवादीका केही सांसदहरू माधव नेपालसँग नराम्रोसँग बिच्किएका छन् । प्रेम आले, धनबहादुर बुढा र किसान श्रेष्ठ लगायतका ब्यक्तिहरू माधव नेपालको निर्णय जे हुन्छ त्यसका विरूद्ध उभिने मानसिकतामा देखिएका छन् । माधव यही गठबन्धनमा रहे प्रेम आलेहरू एमालेमा फर्कने र माधव नेपाल एमालेमा फर्किए उनीहरू वर्तमान गठबन्धनको पक्षमा रहने बुझिएको छ ।

त्यसैले जसपालाई नयाँ सत्ता गठबन्धनमा सामेल गराएर माधव पक्षका कम्तिमा पाँच सांसदलाई समेट्ने योजना केपीको प्राथमिकतामा परेको बुझिन्छ । माधवलाई अध्यक्ष या प्रधानमन्त्री दिन केपी तयार हुने सम्भावना अहिलेसम्म देखिएको छैन । तर माधव नेपाल आफूले दुईमध्ये एक (संसदीय दलको नेता या पार्टी अध्यक्ष) पद नपाएसम्म केपीसँग नमिल्ने अडानमा रहेको निकटवर्तिहरूले बताएका छन् ।

घटना र विचारबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com