
प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ६ महिना नपुग्दै सरकार बदल्ने खेल अति गम्भीर तवरमा सुरु भएको छ । माओवादी र काङ्ग्रेसलाई किनारा लगाएर बाँकी राजनीतिक समूहबीच मोर्चाबन्दी गर्ने यो खेलमा मुख्य भूमिका केपी शर्मा ओलीको रहेको छ । ओलीले त्यसनिम्ति जसपा नेता उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको र, यादव प्रधानमन्त्री बन्ने सपना-कल्पनामा चुर्लुम्म डुब्नुभएको बुझिएको छ ।
संविधानमा कुनै प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन दुई वर्षसम्म नसकिने प्रावधान भएपनि दुई वर्ष धैर्य गर्ने अवस्थामा प्रतिपक्षीहरू छैनन् । घुमाउरो बाटोबाट सरकार ढाल्ने योजना उनीहरूले बनाएका छन् । जसपालाई सरकारबाट बाहिर तान्ने र, उक्त पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन बाध्य पार्ने प्रतिपक्षी योजना छ । विश्वासको मत लिने क्रममा जसलाई जे दिएर भएपनि प्रचण्डको पक्षमा बहुमत पुग्न नदिने र, त्यसपछि प्रचण्डलाई राजीनामा दिन बाध्य तुल्याएर नयाँ सरकार गठन गर्ने योजनाअनुसार भित्रभित्रै अनेक गृहकार्य चलिरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।
हाल प्रतिनिधिसभामा काङ्ग्रेसको ८८, एमालेको ७७, माओवादीको ३२, जसपाको १२, रास्वपाको २१, राप्रपाको १४, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, उन्मूक्तिको ४ सदस्य रहेका छन् । यीमध्ये काङ्ग्रेस, माओवादी र लोसपा (कुल १२४) बाहेकका समूहहरूलाई एक ठाउँमा ल्याएर नयाँ गठबन्धनको सरकार बनाउने चाल ओलीले चाल्नुभएको हो । केही साताअघि रास्वपाका अध्यक्षलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गृहकार्य गर्न ओलीले अह्राउनुभएको थियो । रास्वपा अध्यक्षले आफ्नो पक्षमा बहुमत जुटाउन सक्दैनसक्ने देखिएपछि ओली उपेन्द्र यादवलाई प्रधानमन्त्री दिएर सरकार ढाल्ने रणनीतिक योजनामा जुट्नुभएको हो ।
ओलीको प्रस्तावमा उपेन्द्रले सहमति जनाइसकेको बुझिन्छ, त्यसैले उपेन्द्र प्रधानमन्त्री बन्ने सपना योजनाका साथ निकै होशियारीपूर्वक प्रचण्डलाई विस्थापित गराउने गृहकार्यमा जुटेको जानकारीमा आएको छ । जसपा अर्थात् उपेन्द्रले साथ दिएकै भरमा प्रचण्डविरूद्ध बहुमत जुट्ने स्थिति होइन, त्यसैले एकीकृत समाजवादीलाई एमालेमा बिलय गराउने र, नागरिक उन्मूक्ति तथा जनमतलाई समेत आकर्षक मन्त्रालय दिएर समेट्ने योजना बनेको बताइएको छ । यस्तो सफलता ओलीलाई मिलेमा एमालेको ७७, एकीकृत समाजवादीको १०, राप्रपाको १४, रास्वपाको २१, जसपाको १२, जनमतको ६, उन्मूक्तिको ४ र स्वतन्त्र १ गरी नयाँ गठबन्धनमा १४५ सांसद सङ्ख्या पुग्नेछ । जबकि १३८ सांसद भए सरकार गठनको लागि सङ्ख्या पुग्नेछ ।
यसरी केपीले नयाँ गठबन्धन बनाउने गृहकार्य गरिरहेका भएपनि अहिलेसम्म जनमत तथा उन्मूक्ति पार्टीले विद्यमान सत्ता गठबन्धन छोड्ने सङ्केत दिएका छैनन् । माधव नेपालसँग कुरा मिलिसकेको छैन र, जसपाका सबै १२ सांसद ओलीको पक्षमा जाने देखिएको छैन । तथापि ओलीले हार मान्नुभएको छैन, जतिसक्दो चाँडो प्रचण्डलाई प्रधानमन्त्रीबाट बिदा गर्ने प्रयासमा उहाँ जुटिरहनुभएको छ । पश्चिमाशक्तिको पूर्ण साथ भएमा ओली आफ्नो मिसनमा सफल बन्न सक्नुहुने अवस्था छ ।
घटना र विचारबाट