माधव नेपालले किन दिए सरकार ढल्न सक्ने चेतावनी?

-


     नेपालय न्युज    
     जेठ २९ गते २०८०


सागर न्यौपाने,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठ २८ गतेको संसद बैठकमा सरकारप्रति तीव्र असन्तुष्टि मात्र जनाएनन्, सरकार नै ढल्ने चेतावनी दिए।

सत्ता गठबन्धनको एक घटकका नेता नेपाल पहिलो पटक यसरी सरकारप्रति आक्रामक देखिएका थिए। उनको गुनासोको तीर बजेट विनियोजन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महततिर छ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ। यही स्थितिले जाने हो भने सरकार दुर्घटनामा पर्छ,’ अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ।’

उनले गोरखा, डडेलधुरा र नुवाकोटमा मात्र बजेट केन्द्रित गरेको आरोप लगाए। तर, बजेटको विषयले मात्र अध्यक्ष नेपाल सरकारप्रति रुष्ट भएका होइनन्। खासमा चैत अन्तिम सातायताका केही घटनाक्रमले उनी दबाबमा देखिन्छन्।

चैत २५ मा वरिष्ठ उपाध्यक्ष मुकुन्द न्यौपानले एकीकृत समाजवादी पार्टी छोडेको घोषणा गरे।

वैशाख १० मा न्यौपाने एमाले प्रवेश नै गरे। उनी मात्र होइन, अर्का उपाध्यक्ष केदार न्यौपाने पनि एमालेमै फर्किए।

जेठ ६ मा केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासेले पनि एकीकृत समाजवादी छोडे।

दुई महिनाको अवधिमा पार्टीभित्रका केही महत्वपूर्ण नेताहरुले पार्टी छोडेपछि माधव नेपाललाई नेताहरु जोगाइराख्ने चुनौती थपिएको छ।

त्यति मात्र होइन, अहिले पनि केही पदाधिकारीहरु एमालेका नेताहरुसँग संवादमा रहेको सूचना उनले पाएका छन्।

‘एकीकृत समाजवादीका विभिन्न तहका नेताहरुसँग छलफल भइरहेको छ,’ एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरसँग भने, ‘कतिपय साथीहरु उच्च तहसँग परामर्श गरिरहनुभएको छ। तल्लो तहदेखि माथिल्लो तहसम्मकै साथीहरु छलफलमा हुनुहुन्छ, साथीहरु एमालेमा आउनेक्रम पनि जारी छ।’

उनले एमालेसँग संवाद गरिरहेका एकीकृत समाजवादीका कुनै नेताको नाम भने खुलाउन अस्वीकार गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि एकीकृत समाजवादीसँग एकता गर्ने पक्षमा छैनन्।

‘एकता गर्ने प्रस्ताव छैन, त्यो सम्भावना पनि भएन,’ स्थायी कमिटी सदस्य समेत रहेका गौतमले थपे, ‘प्रवेश गर्ने ढोका खुलै राखेका छौँ।’

एमालेले विस्तारै एकीकृत समाजवादीका नेताहरु तान्ने रणनीति अख्तियार गरेको छ। संघीय संसदमा १८ सांसद रहेको एकीकृत समाजवादीबाट सरकारमा २ मन्त्री र १ राज्यमन्त्री छन्।

एकीकृत समाजवादीका नेताहरु पनि एमालेले पार्टीभित्र खेलिरहेको स्वीकार गर्छन्।

तर, नेताहरु निरन्तर अर्काे पार्टीमा जाँदै गर्दा उनीहरुलाई रोक्नेगरी माधव नेपालले कुनै नयाँ कार्यक्रम ल्याउन सकेका छैनन्। पार्टीको कार्यदिशा निश्चित छैन।

एमालेभन्दा वा माओवादी केन्द्रभन्दा आफ्नो पार्टी फरक छ भन्ने देखाउन उनी असफल देखिन्छन्।

त्यसमाथि कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनको भरमा रहेको पार्टीको भविष्य पनि स्पष्ट छैन। कार्यकर्तामा निराशा छ।

त्यही भएर अध्यक्ष नेपालले सरकारसँग चर्को असन्तुष्टि व्यक्त गरेर पार्टीभित्रको माहौल बनाउन खोजेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट १ मा करोडौँ बजेट माग गरेका छन्। बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने उनको भनाइ छ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रो पार्टीको इरिटेसन बढाउने काम भइरहेको छ, त्यसको सुरुवात बजेटमा देखियो।’

सत्तापक्षमै भए पनि कुनै कुराको छलफल नगरी कांग्रेस र माओवादीको मात्रै सरकार जस्तो गरिएको उनले गुनासो गरे।

‘वाक्क लागेर सत्ता छोडोस् भन्ने बनाउन खोजिएको होला, त्यसो गर्दा यो सरकारको बहुमत घट्छ र सरकार ढालौँ भन्ने खेल कतै भइरहेको हुनसक्छ,’ खतिवडाले थपे।

त्यसो त सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि माधव नेपाल केही नरम भएका छन्।

उपाध्यक्ष राजेन्द्र पाण्डेसहित केही सांसद लिएर बालुवाटार पुगेका उनले बजेटमाथि प्रचण्ड र अर्थमन्त्री डा. महतसँग छलफल गरेका थिए।

‘अहिले हामी सत्ता गठबन्धनमा छौँ। हामीबीच केही मतान्तर पनि हुनसक्ला,’ नेपालले भने, ‘अर्काे सत्ताबाहिरको गठबन्धन छ, त्यसमा कस्ताकस्ता शक्तिहरु छन्? संविधानमाथि गम्भीर आघात पु¥याउने, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन्।’

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com