बजेट नसच्चिए सरकार संकटमा पर्छ : अध्यक्ष नेपाल


     नेपालय न्युज,     
     जेठ २८ गते २०८०


काठमाडौं, जेठ २८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले बजेटमा करेक्सन नगरे सत्ता गठबन्धन सरकार संकटमा पर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सत्ता गठबन्धन पाँच वर्ष चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भएमा सरकार ढल्नसक्ने उहाँले चेतावनी दिनुभयो । बजेटमा सबैजना असन्तुष्ट रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने उहाँले बताउनुभयो ।

बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै उहाँले आफूहरु यथास्थितिमै बजेट पारित हुन नदिने दावी गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्नेगरेका छन् ।

सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा पनि आशंंका उत्पन्न भएको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्शा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताउनुभयो । कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पशुपति जानुभयो नि ? पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “कोही आस्थाले र कोही चर्चा कमाउनका लागि मन्दिर जानेगरेका छन् ।” शनिवार प्रधानमन्त्री दाहालसहित केही मन्त्रीहरु पशुपतिनाथको दर्शनका लागि त्यहाँ पुग्नुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com