
पाेखरा ।
पोखरा १२ माटेपानीमा रहेकाे हिल प्वाइन्ट माविले विश्व वातावरण दिवसको अवसर पारेर आफ्ना विद्यार्थीलाई सामाजिक पारिवारिक शैक्षिक जीवनमा प्रभाव पर्ने गरी संस्कारमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
कक्षा १० का विद्यार्थीले सुव्रत सिग्देल र गायत्री थापाको नेतृत्वमा आफ्नो खाजाखर्च बचत गरेर संकलन गरिएको रकममा विद्यालय एवम् शिक्षकहरुको समेत योगदान थपेर पोखरा ३२ लामेआहाल स्थित राधाकृष्ण वृद्धाश्रममा ६५ जना ज्येष्ठ नागरिकलाई फलफूल, चिनी, चियापत्ती आदि खाद्यपदार्थ वितरण गरिएको थियो । बच्चाहरु एवम् हजुरबा हजुर आमाबिच सम्बन्ध विकसित होस् भनी दिनभरजसो नृत्य प्रदर्शन, भलाकुसारी, अनुभव आदान प्रदान जस्ता कार्यक्रम भएका थिए । कार्यक्रममा आश्रमका अध्यक्ष प्रेम लिगल, प्राचार्य दिवाकर जैसी, विद्यार्थीद्वय किरण कार्की र सुक्रिया गुरुङ्गले आ आफ्नाे मन्तव्य राखेका थिए । कार्यक्रमको संयोजन शिक्षक कपिल अधिकारीले र कार्यक्रम सञ्चालन रामकुमार थापाले गरेका थिए ।
कक्षा दशलाई वृद्धाश्रम अवलोकन भ्रमणको कार्यक्रम राखिएको थियो भने कक्षा ९ सम्मका विद्यार्थीलाई जनचेतनामूलक र्याली, वडा कार्यालयसम्मको सरसफाइ, विद्यालय परिसर वरिपरि वृक्षरोपण, वातावरण सम्बन्धी चित्रकला प्रतियोगिता आदि कार्यक्रममा संलग्न गराइएको थियो । कार्यक्रमकाे व्यवस्थापन सञ्चालन सह प्राचार्य गंगाराम पौडेल र इन्चार्ज सुबोध तिवारीले गरेका थिए ।