
ध्रुवसागर शर्मा/
जेठ १८ , गलेश्वर
आज विश्व दूध दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसका अवसरमा कार्यक्रम गर्यो।
विश्वमा दूध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। हिमाली जिल्ला म्याग्दीमा पनि पछिल्लो समय व्यावसायिक पशुपालन र दुग्ध व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ। विदेशबाट फर्केका युवा धेरैजसो व्यावसायिक पशुपालनमा लागेका छन्। म्याग्दी जिल्ला दूध र दुग्धजन्य पदार्थले आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ।
दस वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँ फर्किएका म्याग्दीको बेनी नगरपालिका–सात कुरिलाखर्कका ३९ वर्षीय युवा सुरेश ढुङ्गाना पेसा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रसन्नताको महक प्राप्त गर्नुका साथै परिश्रम गर्ने हो भने विदेशको भन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल भएका छन्।
“प्रायः नेपाली युवा विदेश जानका लागि मरिहत्ते गर्छन्, विदेश जानका लागि भएको घरजग्गा धितो राखेर ऋण लिन्छन्, गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी भ्रममा आफ्नो जिन्दगीका उर्वर दिन खेर फालिरहेका हुन्छन्”, ढुङ्गानाले भने, “तर, परिश्रम गर्ने हो भने विदेशकोभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौं।”
स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका ढुङ्गानालाई गाउँ आएपछि साथीले अमेरिका जान उचाले पनि उनले अमेरिका जाने होइन, गाउँमै त्यहाँभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए। नौ वर्ष पहिले कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुङ्गानाको फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन्। ती भैँसी र गाईबाट दैनिक एक सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको उनी बताउँछन्। दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक रु चार लाख आम्दानी हुने गरेको छ। सबै खर्च कटाएर मासिक करिब रु दुई लाख हाराहारीमा बचत हुने उनको भनाइ छ। फार्ममा अहिले रु ५० लाखजति लगानी भइसकेको उनले बताए। भैँसीलाई चाहिने घाँसका लागि उनले सार्वजनिक पाखो जग्गा भाडामा लिएका छन्।
“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु, समय गएको पत्तै हुँदैन, साँझपख बजारमा दूध पुर्याउन जान्छु, सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दूध पुर्याएपछि बल्ल शरीरमा फुर्ति आउँछ”, ढुङ्गानाले भने।
प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उनले बताए। ढुङ्गाना साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्याउँछन्। “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ, तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, उनले भने।
पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाए। उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन् भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन्। भैँसीको स्याहारसुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानाले विदेशमा गएर अरुको अधीनमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताए।
ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिँदैन। फापेको भैँसीपालनसँगै उनले कुखुरा पालन पनि सुरु गरेका छन्। अहिले उनको फार्ममा दुई हजार तीन सय सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन्। दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु आठ लाख पुग्छ। गाई, भैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उनको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ। रासस