एनआरएनए नागरिकता : सम्पत्ति किनबेच गर्न पाउने, भोट हाल्न नपाउने


     नेपालय न्युज,     
     जेठ १७ गते २०८०


१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् ।

मन्त्रिपरिषद्को १२ जेठको निर्णय अनुसार विधेयकको विभिन्न अवस्था र स्थिति उल्लेख गरी प्रमाणीकरणका लागि मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको भन्दै राष्ट्रपति पौैडेलले आफ्नो निर्णयमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।’

यो विधेयक प्रमाणीकरणसँगै २०७२ सालको संविधान जारी हुनुअघि जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता लिने बाटो खुलेको छ । नेपाली आमाबाट जन्मिएका, तर बाबुको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट नागरिकता लिने बाटो खुलेको छ ।

साथै गैरआवासीय नेपालीले माग गर्दै आएको एनआरएनए नागरिकता प्राप्तिका लागि पनि बाटो खुलेको छ । उनीहरुले नागरिकता पाए पनि राजनीतिक अधिकार भने पाउने छैनन् । तर एनआरएनए नागरिकता प्राप्तिका लागि विधेयक प्रमाणीकरण मात्र पर्याप्त हुन्न । यसको प्रक्रियागत कुराहरू खुलाउन नियमावली चाहिन्छ ।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी भन्छन्, ‘ऐन बनेपछि त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर नियमावली बनाउनुपर्छ । गृह र परराष्ट्र मन्त्रालय मिलेर बनाइसकेको छ भने लागू गर्नुपर्छ, बनेको छैन भने बनाउनुपर्छ ।’

राजनीति र सरकारी जागिरमा ‘नो इन्ट्री’

गैर आवासीय नेपालीले नागरिकता पाउन केही शर्त छन् । पहिलो, एनआरएनए नागरिकता लिन चाहने व्यक्ति स्वयं वा बाबु वा आमा, बाजे वा बज्यैले नेपालको नागरिकता लिएको हुनुपर्छ ।

यदि एनआरएनए नागरिकता लिन चाहने व्यक्ति स्वयंले नेपालको नागरिकता लिएको भए त्याग गरेको र सार्क मुलुक बाहेकका देशको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्छ ।

साथै नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र पनि जनाउनुपर्छ ।

यसरी नागरिकता लिएपछि राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाइन्छ । २०७२ को नयाँ संविधानमै एनआरएनए नागरिकता वाहकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने उल्लेख गरिएको छ ।

अर्थात् एनआरएनए नागरिकता वाहकले मतदान गर्ने, राजनीतिक दल खोल्ने वा दलको पदाधिकारी हुने, जनप्रतिनिधि हुने, राजनीतिक नियुक्तिमा जाने राजनीतिक अधिकार पाउने छैनन् । सरकारी सेवामा प्रवेश गर्ने प्रशासकीय अधिकार पनि एनआरएनए नागरिकता वाहकले पाउने छैनन् ।

सम्पत्ति किनबेचमा सहज

एनआरएनए नागरिकताले आर्थिक गतिविधि गर्न भने गैरआवासीय नेपालीलाई सहज हुन्छ ।

वरिष्ठ अधिवक्ता अधिकारीका अनुसार विदेशको नागरिकता लिनुअघि नै नेपालमा जोडेको सम्पत्तिलाई विद्यमान कानुनले असर गरेको छैन । तर त्यसलाई राख्ने कि नराख्ने भन्ने धेरैमा अन्योल थियो । अब त्यो पिरलो हटेको भन्दै उनले भने, ‘एनआरएनए नागरिकताले अब त्यो तीन पुस्तालाई सुरक्षित भयो ।’

अधिवक्ता सुनिल पोखरेलका अनुसार एनआरएनएलाई नेपालमा जग्गा खरिदमा पनि सीमा थियो । सरकारसँग अनुमति लिएर काठमाडौं उपत्यकामा २ रोपनी र बाहिर नगर क्षेत्रमा ८ कट्ठा किन्न सकिने व्यवस्था छ । व्यापार व्यवसायका लागि एनआरएनए कार्ड मार्फत जानुपर्ने थियो । अब एनआरएनए नागरिकता लिएपछि उनीहरूले अरू नेपाली नागरिक सरह सम्पत्ति जोड्न र व्यापार व्यवसाय गर्न सक्ने उनले बताए ।

नेपालको नागरिकता नत्यागेको र विदेशको नागरिकता लिएको अवस्थामा नेपालमा सम्पत्ति जोड्नेहरू पनि रहेको अनुमान छ । तर यसको यकिन विवरण छैन । उनीहरूले नेपालको नागरिकता प्रयोग गरेर घरजग्गा खरिद गरेका हुन सक्छन् ।

अहिलेको कानुन बमोजिम यो सम्पत्ति अवैध हुन्छ । तर संविधानले आफ्नो सम्पत्तिको अधिकार सुनिश्चित गरेका कारण एनआरएनए नागरिकता लिएपछि त्यो सम्पत्तिलाई एक पटकका लागि वैध बनाउने बाटो खोल्नुपर्ने उनी बताउँछन् ।

अधिवक्ता पोखरेल भन्छन्, ‘अब सरकारले विदेशको नागरिकता लिएर पनि नेपालमा सम्पत्ति जोडेको छ भने एनआरएनए नागरिकता प्राप्त गरेको निश्चित अवधिभित्र ट्रान्सफर गर्न दिने र त्यसपछि अवैध हुने घोषणा गर्‍यो भने सदाका लागि समस्या समाधान हुन्छ ।’

फेरि नेपाली नागरिकता लिन पाइन्छ ?

गैरआवासीय नेपालीहरूमा एक पटक एनआरएनए नागरिकता लिएपछि भोलि चाहेको बेला नेपालको वंशजको नागरिकता पाइन्छ कि पाइन्न भन्ने प्रश्न छ ।

वरिष्ठ अधिवक्ता अधिकारीका अनुसार यो विषय प्रष्ट छैन । एनआरएनए नागरिकताको व्यवस्था आउनुअघि विदेशको नागरिकता त्यागे नेपालको नागरिकता लिनसक्ने व्यवस्था रहेको स्मरण गर्दै उनले अगाडि भने, ‘पाइरहेको अधिकार घटाउने हुन्न होला ।’

अनलाइनखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com