पोखरा २८ ले आगामी आर्थिक वर्ष खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनका कार्यक्रमलाई प्राथमिकता दिने

-


     नेपालय न्युज    
     जेठ १६ गते २०८०


पोखरा ।
पोखरा २८ मा सोमबार आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा योजनाबारे छलफल भएको छ ।

सहभागीले भौतिक पूर्वाधारका साथै मानवीय विकासका लागि आवश्यक बजेट विनियोजन गर्न महानगरलाई सुझाव दिएका छन् ।

महानगरवासीले पाउनुपर्ने न्यूनतम सेवा, सुविधा नपाएको उनीहरुले मेयर धनराज आचार्यसँग गुनासो गरे ।

महानगरले सबै वडालाई १ करोड ९७ लाखको सिलिङ निर्धारण गरे पनि चालु आर्थिक वर्षमा स्थानीय, प्रदेश र संघ गरी ३ तहको सरकारबाट प्राप्त १७ करोड वडाको विकास, निर्माणमा खर्च भएको वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बताए ।

महानगरपालिकाले निर्धारण गरेको बजेटको सिलिङले टुक्रे योजनामात्र छनोट गर्दा ग्रामिण परिवेशका वडामा जनअपेक्षा अनुरुपका काम हुन सकेको छैन । वडाध्यक्ष लामिछानेले आगामी वर्षका लागि सीमित साधन, स्रोतको उच्चतम प्रयोग गर्दै प्राथमिकताका आधारमा योजना छनोट गरिने सुनाए ।

 

३१ बुँदामा वार्षिक कार्यक्रम प्रस्तुत गरेका लामिछानेले खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

 

सार्वजनिक पदमा रहेका व्यक्तिका छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउन पहल गर्ने, सरकारी स्कुलको गुणस्तर सुधार्ने, भैरव गुठीको जग्गा खोजी गर्ने, वडाको आवधिक योजना र पर्यटन गुरुयोजना बनाउने उनले प्रस्ताव गरेका छन् ।

 

युवालाई व्यावसायिक तालिम दिएर उद्यमी बनाउने, कृषि उत्पादन बढाउने र वजारीकरण गर्ने, खानेपानी व्यवस्था गर्ने, सार्वजनिक जग्गाको अभिलेख राख्ने, कालिका मन्दिर, भैरवकोट, ठूलाकोट, चिन्तेडाँडा, माझठानामा रहेको मनकामना मन्दिर, मैदी ताल लगायतका पर्यटकीय क्षेत्र प्रवद्र्धन गरिने उनले जनाए ।

 

कार्यक्रममा मेयर धनराज आचार्यले आगामी वर्ष खानेपानीलाई प्राथमिकतामा राखेर साझेदारी कार्यक्रम सञ्चालन गरिने बताए । उनले महानगरका योजना ५० लाखभन्दा साना योजना नहुने प्रष्ट पारे ।

कार्यपालिका सदस्य निर्मल दियालीले भौगोलिक रुपमा विकट वडाहरुमा परिणाम आउने गरी विकास बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका महासमिति सदस्य कृष्ण केसीले सामाजिक न्यायको सिद्धान्तका आधारमा पोखरा महानगरको सुगम र दुर्गम भागलाई छुट्याएर विकासका योजना छनोट गर्न सुझाव दिए ।

एमालेका वैनबहादुर गुरुङले बिजुलीका नांगा तार र सडक व्यवस्थापन हुन नसक्दा वडावासीले सास्ती खेप्नु परेको सुनाए । माओवादी केन्द्रका श्याम केसीले प्राथमिकताका आधारमा व्यवस्थित योजना छनोट गर्न सुझाए ।

कार्यक्रममा वडा सदस्यद्वय डाल्डादेवी भुजेल र वीरेन्द्र भण्डारी, विष्णु सुवेदी, शम्भुराम पाण्डे, माधव तिवारी, केदार अधिकारी लगायतले बोलेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com