टिकटक प्रयोगमा बन्देज लगाउने विधेयक पारित गरेको मोन्टानामाथि टिकटकले हाल्यो मुद्दा

-


     नेपालय न्युज    
     जेठ ९ गते २०८०


चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिकाको मोन्टाना सरकारमाथि मुद्दा हालेको छ । हालै मोन्टानाले आगामी वर्षको शुरुदेखि टिकटकको व्यक्तिगत प्रयोगमै बन्देज लगाउने विधेयक पारित गरेको थियो ।

सोही विधेयकको मामिलामा कम्पनीले सोमवार मुद्दा हालेको हो । सो विधेयकले अमेरिकी संविधानको साथै अन्य संघीय कानूनहरूको समेत उल्लंघन गरेको मोन्टाना जिल्ला अदालतमा दायर गरिएको सो मुद्दामा भनिएको छ । अमेरिकी टिकटक प्रयोगकर्ताहरूको तथ्या‌ंकमा चीन सरकारले पहुँच बनाउने चिन्ता पनि निराधार भएको दाबी पनि कम्पनीले गरेको छ ।

सन् २०२४ को जनवरी १ देखि एप सर्वसाधारणहरूको स्मार्टफोनमा उपलब्ध गराएमा टिकटक वा एप स्टोरलाई दिनहुँ १० हजार डलर जरिवाना तिराइने छ । कम्पनीले आफूलाई मुद्दा हाल्छ भन्ने अड्कल मोन्टाना सरकारले पहिले नै गरिसकेको थियो ।

सो मामिलामा आउने कानूनी चुनौतीका लागि आफूहरू पूर्णरूपमा तयार रहेको मोन्टानाका महान्यायाधिवक्ता कार्यालयकी प्रवक्ताले बताएकी छन् । अमेरिकाले सरकारी निकायका उपकरणहरूमा टिकटकको प्रयोगमा रोक लगाएको छ । तर, मोन्टाना एक कदम अगाडि बढेर एपको व्यक्तिगत प्रयोगमै प्रतिबन्ध लगाइदियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com