अमेरिकामा मन्दीको वाल स्ट्रिटले पनि देखायो संकेत, ‘७८ % कम्पनीको नाफामा कमी अनुमानभन्दा धेरै’

-


     नेपालय न्युज    
     वैशाख ३१ गते २०८०


अमेरिका आर्थिक मन्दीको संघारमा रहेको अर्थशास्त्री र विश्लेषकहरूले ठोकुवा गरिरहँदा वाल स्ट्रिटले पनि यस्तै संकेत गरेको छ । वाल स्ट्रिटमा कर्पोरेट अमेरिकाले मुनाफामा सात वर्षयताकै लामो सुस्तीको मार खेपिरहेको छ ।

यो वर्षको पहिलो त्रैमासको आर्थिक तथ्यांक सार्वजनिक गर्ने सिजन लगभग सकिने क्रममा छ । एसएन्डपी ५०० मा सूचीकृत कम्पनीहरूको मुनाफा गत वर्षको तुलनामा औसतमा ३ दशमलव ७ प्रतिशतले घटेको छ । ब्लुम्बर्ग इन्टेलिजेन्सले संकलन गरेको तथ्यांकका अनुसार ७८ प्रतिशत कम्पनीको मुनाफामा कमी अनुमान गरेभन्दा धेरै छ ।

यो कमी सिजन शुरु हुनुअघि नै विश्लेषकहरूले मुनाफा घट्छ भन्ने ठोकुवा गरेका थिए । कर्पोरेट अमेरिकाको मुनाफा घटेको यो लगातार दोस्रो त्रैमास हो । चालु त्रैमासको मुनाफा प्रक्षेपण पनि बियरिस नै छ । अप्रिल–जुन त्रैमासमा मुनाफा ७ दशमलव ३ प्रतिशतले घट्ने बताइएको छ ।

अकासिएको ब्याजदर अनि घट्दै गइरहेको उपभोक्ता मागको असर यस वर्षको तेस्रो त्रैमासमा पनि देखिने आकलन विश्लेषकहरूको छ । यसअघिको प्रक्षेपणहरूमा तेस्रो त्रैमासमा कर्पोरेट अमेरिकाको मुनाफामा लयमा फर्किने बताइएको थियो । तर, अहिलेको स्थिति हेर्दा सो प्रक्षेपण गलत हुने देखिन्छ । यो कोरोना भाइरसको महामारीको बेलामा कम्पनीहरूको मुनाफामा देखिएको मन्दी भन्दा पनि लामो हो ।

यसअघि सन् २०१५ देखि सन् २०१५ को बीचमा तीनभन्दा धेरै त्रैमासमा कर्पोरेट अमेरिकाको मुनाफा मा मन्दी छाएको थियो । त्यति बेला अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर वृद्धिको चक्र शुरु गरेपछि सोको असर कम्पनीका मुनाफामा देखिएको थियो । त्यसो भए त मध्य अप्रिलमा वाल स्ट्रिटका ठूलो कर्जादाताहरूले त्रैमासिक तथ्यांक सार्वजनिक गर्न शुरु गएयता एसएन्डपी ५०० सूचकमा कुनै वृद्धि नआउनु पनि अचम्म होइन ।

मार्जिनमा दबाब

अर्थतन्त्र सुस्ताउँदा यसको असर कम्पनीहरूको मुनाफा मार्जिनमा पनि स्वतः देखिन्छ । यस वर्षको चौथो त्रैमासअघि यसमा सुधार नआउने अधिकांश अर्थशास्त्रीहरू बताउँछन् । केहीले त कम्पनीहरूको मुनाफा मार्जिनमा अपेक्षा गरेअनुरुप सुधार नआउने बताइरहेका छन् । केही कम्पनीले मार्जिन गाइडेन्समै कटौती गरेका छन् ।

कम्पनीहरूको विक्री र मुनाफाको वृद्धिदर सुस्ताएको छ । विक्री दरको वृद्धि मुनाफाको वृद्धिदरले उछिन्न सकेको छैन । अहिलेसम्म कम्पनीहरूले कर्मचारी कटौती गरेर खर्च घटाउने अनि मुनाफा बढाउने उपायहरू अपनाइरहेका छन् । जुन त्रैमासमा वास्तविक स्थिति झनै उजागर हुनेछ ।

बैंकका अवरोध

अमेरिकी अर्थतन्त्र मन्दीको संघारमा भएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजका सीईओ जेमी डिमनले हालै ठोकुवा नै गरेका थिए । पहिलो त्रैमासमा बढ्दो ब्याजदर, कारोबार आम्दानी र निक्षेप आप्रवाहका कारण ठूला बैंकहरू मार्चको वित्तीय दबाबको असर मत्थर पार्न सक्षम भए । तर, अन्य अवरोधहरू छन् ।

महँगीका कारण अमेरिकीहरूले ऋण तिर्न नसक्दा चार ठूलो बैंकको खराब उपभोक्ता कर्जा अपलेखन एक वर्षअघिको स्तरबाट ७३ प्रतिशतले बढेको छ । मर्जर र एक्विजशन सुस्त हुँदा यसबाट हुने आम्दानी घटेको छ ।

बैंकहरूले कर्जा प्रवाहमा व्यापक कटौती गर्दा साना व्यवसायहरू मारमा परेका छन् । समग्रमा व्यावसायिक गतिविधि सुस्त भएको छ । यसले फेरि उपभोक्ताहरूलाई नै प्रभाव पार्ने निश्चितप्रायः छ भन्छन् फ्लोबैंक एसएमा वरिष्ठ बजार रणनीतिज्ञ पल डि बाउमे ।

यो समस्या व्यावसायिक रियल ईस्टेट बजारमा पोखिन सक्ने अवस्था छ । पहिलो त्रैमासको मुनाफामा प्रविधि कम्पनीहरूकै वचर्श्व थियो ।

एप्पलदेखि मेटा अनि गुगलको माउ कम्पनी अल्फाबेटदेखि एमाजनसम्म सबैले प्रक्षेपण गरेको भन्दा धेरै मुनाफा कमाए । फेडले ब्याजदर बढाउन बन्द गरेको संकेतले पनि यी कम्पनीहरूलाई लाभ भइरहेको छ । तर, दोस्रो त्रैमासमा अवस्था फरक छ ।

प्रविधि कम्पनीहरूको मुनाफा ७ प्रतिशतभन्दा धेरैले घट्ने अनुमान गरिएको छ । सन् २०२४ सम्मै प्रविधि, सञ्चार र दूरसञ्चार क्षेत्रको मुनाफा वृद्धि एसएन्डपी परिसूचकमा हुने वृद्धिभन्दा कम नै हुने विश्लेषण गरिएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com