गत सोमबार अमेरिकाको अर्को ब्यांक डुबेको छ। सरकारले फर्स्ट रिपब्लिक ब्यांक नियन्त्रणमा लिएलगत्तै त्यसलाई अमेरिकाको सबैभन्दा ठूलो ब्यांक जेपीमोर्गन चेसले किनेको छ।
फर्स्ट रिपब्लिक क्षेत्रीय ब्यांक हो। र, अमेरिकाको इतिहासमा डुबेको दोस्रो ठूलो ब्यांक पनि हो। यसअघि २००८ मा डुबेको वासिङ्टन म्युचुअल हालसम्म डुबेकामध्ये सबैभन्दा ठूलो ब्यांक हो। त्यसलाई पनि जेपीमोर्गनले नै किनेको थियो।
फर्स्ट रिपब्लिक तीन महिनायता डुबेका तेस्रो ब्यांक हो। यसअघि मार्चमा सिलिकन भ्याली र सिग्नेचर ब्यांक डुबेका थिए। उनीहरु क्रमशः असफल हुने तेस्रो र चौथो ठूला ब्यांक हुन्।
सिग्नेचर र सिलिकन भ्याली ब्यांकमा जस्तै फर्स्ट रिपब्लिक ब्यांकका बचतकर्ता पनि एकै पटक ठूलो संख्यामा ब्यांकबाट निस्केका थिए। उनीहरु ठूला ब्यांकतर्फ लागेका थिए। बढ्दो ब्याजदरका कारण हुने घाटालाई यो ब्यांकको पुँजीले धान्न नसक्ने अड्कल गरेर उनीहरु ठूला ब्यांकतिर लागेका थिए।
कतिपयले यसलाई ठूलो ब्यांकिङ संकटको संकेत भनिरहेका छन्। कतिले यो खास ब्यांकको मात्र असफलता मानिरहेका छन्। तर, यदि ब्यांकिङ प्रणालीमाथिकै संकट हो भने यो धिमा गतिमा अघि बढिरहेको छ। निश्चय नै थप ब्यांक डुब्ने सम्भावना छ।
सम्झौताअनुसार फर्स्ट रिपब्लिकका सबै बचतकर्तालाई जेपीमोर्गनले बचाउँछ। तर, सो ब्यांकले फर्स्ट रिपब्लिकको कर्पोरेट ऋण वा प्राथमिक सेयरको जिम्मा लिने छैन। सोमबार फर्स्ट रिपब्लिकका शाखाहरुमा निर्बाध सेवा सञ्चालन भए।
जेपीमोर्गनले गरेको सम्झौताअनुसार यसले फर्स्ट रिपब्लिकको करिब १७३ अर्ब डलर ऋण, ३० अर्बको सेक्युरिटिज् र ९२ अर्ब डिपोजिटको जिम्मा लिनेछ। साथै ५० अर्ब डलर लगानी पनि प्राप्त गर्नेछ। जुन फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले गर्ने लिलामीको हिस्सा हुनेछ।
त्यसको बदलामा जेपीमोर्गनले एफडीआईसीलाई १०.६ अर्ब डलर तिर्नेछ। यसले मार्चमा फर्स्ट रिपब्लिकलाई ऋण दिएका ठूला ऋणदाताको २५ अर्ब डलर पनि तिर्नेछ।
यो सम्झौताले जेपीमोर्गनका सेयरहोल्डरहरुलाई राम्रै फाइदा पुग्ने अपेक्षा गरिएको छ। ‘हाम्रो सरकारले हामीलाई अघि सर्न निम्त्यायो र हामी अघि सर्यौँ,’ जेपीमोर्गन चेसका अध्यक्ष तथा सीईओ जेमी डाइमनले भनेका छन्।
के भयो फर्स्ट रिपब्लिक ब्यांकलाई?
यो ब्यांक महिनौँदेखि असफलताको संघारमा थियो। मार्चअघि नै ब्यांकलाई बचाउन ३० अर्ब डलर लगानी गरिएको थियो। जेपीमोर्गनले नै ७० अर्ब डलर ऋण दिइसकेको थियो।
यो ब्यांकको सेयर मूल्य बढ्ने अपेक्षा गरिएको थियो। तर, गतसाता ब्यांकले पहिलो त्रैमास आफ्नो जम्मा डिपोजिट ४१ प्रतिशतले घटेर १०४ अर्ब डलरमा झरेको रिपोर्ट प्रकाशित गर्यो। यसले ब्यांकको सेयर मूल्यमा पहिरो गयो। शुक्रबारको क्लोजिङमा सेयर मूल्य मात्र ३.५१ डलर रहन पुग्यो। सेयर मूल्यमा एक वर्षमा ९७ प्रतिशतले गिरावट आइसकेको छ।
सिलिकन भ्याली र सिग्नेचर ब्यांकजस्तै यो मध्यम आकारको ब्यांक हो। जसको सम्पत्तिको मूल्यमा बढ्दो ब्याजदरका कारण अर्बौं डलर क्षति भएको थियो। यसले बचतकर्ताहरुमा डर थपियो, आफ्नो पैसा सुरक्षित नहुने हो कि भनेर। त्यसपछि उनीहरुले यी ब्यांकबाट रकम निकाल्न थाले र ठूला तथा बलिया ब्यांकमा सार्न थाले।
यसलाई रोक्न केन्द्रीय ब्यांकले अनेक कोसिस गर्यो। तरलता, ऋणमा सघायो। ब्यांकिङ प्रणालीमा आत्मविश्वास फर्काउन केन्द्रीय ब्यांकले आक्रामक कदम चालेको थियो। तथापि फर्स्ट रिपब्लिकलाई बचाउन सकेन।
के अरु ब्यांक पनि डुब्लान्?
मुख्य प्रश्न हो, फर्स्ट रिपब्लिकको असफलताले ब्यांकिङ प्रणालीमा कस्तो संकटको संकेत गर्छ त? २००८ को जत्रै ब्यांकिङ संकट आउने सम्भावना त देखिँदैन। तर, मध्यम आकारका अरु ब्यांक पनि डुब्ने सम्भावना भने छ।
‘यस्तो समस्या भएका अरु ब्यांक पनि छन्। त्यसैले थप ब्यांक डुब्न सक्छन्। केही समय शान्त हुनु भनेको सकारात्मक संकेत हो। ब्यांकिङ प्रणालीव्यापी संकट नआउन सक्छ। तर, हामी जोखिममुक्त भने छैनौँ,’ युनिभर्सिटी अफ पेन्सलभेनियाका प्राध्यापक इतामार ड्रेसलर भन्छन्। एजेन्सी