‘प्रचण्ड’का लागि संघीय निर्वाचन क्षेत्र छोडेका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री


     नेपालय न्युज,     
     वैशाख १४ गते २०८०


काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री (Chief Minister) मा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ७ र स्वतन्त्र १ गरी ३५ प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

गोरखा क्षेत्र नं २ मा सङ्घीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि संघीय क्षेत्र छोडेर क्षेत्र नं २ को प्रदेशसभा २ बाट चुनाव लडेका थिए । संघीय क्षेत्रबाट विजयी ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेला प्रदेश सभाबाट विजयी पाण्डे मुख्यमन्त्री भएका छन् ।

पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको भातृसंस्था नेविसङ्घमा आबद्ध थिए । विसं २०३७ मा अमरज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका उनले २०७४ सालमा राष्ट्रियसभामा सांसद रही पार्टीका तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारी बहन गरेका थिए । मुख्यमन्त्रीमा निर्वाचित भएसँगै उनले प्रदेशको समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । राससको सहयोगमा

WP2Social Auto Publish Powered By : XYZScripts.com