पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख तिम्सिना र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

-


     नेपालय न्युज    
     वैशाख १४ गते २०८०


पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिना र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीबार महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा तिम्सिना र राजदूत थम्पसन बिच द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको हो ।
भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख तिम्सिनाले पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा सहयोगका लागि कूटनीतिक पहल गरिदिन राजदूत थमसनसँग आग्रह गर्नुभयो ।
“पोखरा महानगरपालिकाका पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेको महानगरपालिका हो, तिम्सिनाले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरसँग जोड्ने गरी हालै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ, यहाँबाट अन्तराष्ट्रिय हवाई सेवा समेत सञ्चालन गर्न सकिने अवस्था छ ।” यहाँ अझ धेरै पर्यटन पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता भएकाले अमेरिकी सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
पोखराको विकासमा फ्रन्टलाइनर भएर सहकार्य गर्न आग्रह गरिएको पनि तिम्सिनाले बताउनुभयो । महानगरपालिकाको शिक्षा, स्वास्थ्य र आर्थिक विकासका विभिन्न कार्यक्रममा अमेरिकाले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।
राजदूत थम्पसनले पोखराको दिगो पर्यटन विकासमा सहकार्य गर्न अमेरिका तयार रहेको बताउनुभयो । व्यवस्थित ई-लाइब्रेरी स्थापनाका लागि समेत आफूले विशेष पहल गर्ने उहाँले बताउनुभयो ।
बुधवार पोखरा आउनु भएका राजदूत थमसन शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
WP2Social Auto Publish Powered By : XYZScripts.com