विदेशिएका नेपालीलाई मतदानको अधिकार माग्दै प्रधानमन्त्रीलाई ज्ञापन

-


     नेपालय न्युज    
     चैत्र २९ गते २०७९


भारतसहित विदेशस्थित नेपालीलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीसमेतको टोलीले बुधबार ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा आगामी चुनावमा विदेशस्थित नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने, नयाँ देशसित श्रमसम्झौता थालनी गरिनुपर्ने, श्रम सहचारीको नियुक्ति तथा निजको भूमिका प्रभावकारी बनाइनुपर्ने, स्वदेशमै रोजगारी व्यवस्थापनका साथै वैदेशिक रोजगारीलाई आवधिक बनाइनुपर्ने, सरकारले नै बैदेसिक रोजगारी सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारीका अनियमता रोक्न कडा कदम उठाइनुपर्ने र त्यस क्रममा द्रुत संयन्त्र बनाइनुपर्ने माग गरिएको छ ।

त्यसैगरी ज्ञापनमा वैदेशिक रोजगारीमा गएका महिला कामदारको सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, भारतस्थित नेपालीसित सन् १९५० को सन्धिअनुसार ‘राष्ट्रिय व्यवहार’ गरिनुपर्ने, योगदानमाथि आधारित सामाजिक सुरक्षा योजनामा सरकारले योगदान थप्दै थप आकर्षक बनाइनुपर्ने, विदेशबाट पासपोर्ट नवीकरणलाई छिटो र सरलीकरण गर्दै कारणवश पासपोर्ट हराउँदा चर्को शुल्क लिन बन्द गर्नुपर्ने, नेपालका विमानस्थलमा गैरव्यावसायिक वस्तुमा दिने भनिएको करछुटलाई कार्यान्वयन गरिनुपर्ने र मलेसियामा नेपाली कामदारमाथिको चोरी, ठगी र लुटपाट रोक्न ठोस व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

प्रतिनिधि मण्डलमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा कार्यालय सचिव प्रकाश थापामगर, अन्तर्राष्ट्रिय नेपाली एकता समाजकै पूर्व केन्द्रीय सदस्य आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव हरिकान्त शर्मा र राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपानेसमेतको सहभागि थियो।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com