अमेरिकी बैंकहरू धमाधम टाँट पल्टिरहेको अवस्थामा फेडले किन बढायो ब्याजदर ?


     नेपालय न्युज,     
     चैत १० गते २०७९


अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाएको छ । अमेरिकामा तीन बैंक धराशयी बनेर विश्वव्यापी बैंकिङ क्षेत्रमा व्यापक उथलपुथल आइरहेकै समयमा फेडले बुधवार ब्याजदर एक चौथाई प्रतिशतले बढाएको छ । यद्यपि, ब्याजदर वृद्धि केही समयलाई भने थाँती राख्ने फेडको संकेत छ ।

बैंकिङ प्रणालीमाथि नै लगानीकर्ता र निक्षेपकर्ताहरुको विश्वास फर्किनसकेको अवस्थामा फेड अध्यक्ष जेरोम पावेलले भने अवस्था स्वस्थ्य भएको आश्वास्त पार्न खोजेका थिए । सिलिकन भ्याली बैंकको व्यवस्थापन खराबसँग असफल भएको तर बैंकको अवसानले बैंकिङ प्रणालीको व्यापक कमजोरी भने नदेखाएको उनले बताएका छन् ।

स्वीटजरल्यान्डको समस्याग्रस्त बैंक क्रेडिट स्वीसको टेकओभर सकारात्मक नतिजा भएकोमा पनि उनले जोड दिएका छन् । अमेरिकाको बैंकिङ प्रणाली राम्रो अनि उत्थानशील अवस्थामा रहेको फेडको खुला बजार समितिले एउटा विज्ञप्तिमा भनेको छ । तर महँगीविरुद्ध लड्नु पर्नेमा अधिकारीहरु इच्छुक रहेको भन्ने पावेलको अभिव्यक्तिपछि भने बुधवार वाल स्ट्रिट तीव्र कमी बेहोरेर रातोमा बन्द भएको थियो ।

फेडले थोरै मात्रै भएपनि ब्याजदर बढाउने आशाबिच ब्याजदर वृद्धि भएको छ । गएको एक वर्षमा फेडले आठ पटक ब्याजदर बढाइसकेको छ । आकाशिएको महँगीलाई नियन्त्रण गर्ने अनि बैंकिङ प्रणालीमा उत्पन्न हुन सक्ने अस्थीरताको जोखिम कम गर्न फेडले सावधानी पूर्वक ब्याजदर बढाउँदै आएको थियो । तर, फेडको आक्रामक ब्याजदर वृद्धिको असरले एसभी बैंक र सिग्नेचर बैंक एक्कासी ढलेपछि फेड अहिले ब्याजदर वृद्धि उपर्युक्त हुनेछ भन्ने अवस्थामा छैन ।

फेडको पछिल्लो विज्ञप्तिमा पनि यो कुरा उल्लेख गरिएको थिएन । अमेकिरामा अर्का दुई मझौला आकारका बैंकहरु सान्टा क्लारा र सिग्नेचरको पतनपछि बैंकिङ क्षेत्रमा त्रास देखिएको छ । संकट कम गर्न स्वीस नियामकहरुले असफल हुन दिनै नहुने गरी ठूलो मध्ये एक क्रेडिट स्वीसलाई बलियो घरेलु प्रतिद्वन्द्वी यूबीएसलाई किन्न लगाएका छन् ।

अहिले बैंकिङ क्षेत्रमा सन् २००८ यताको सबैभन्दा ठूलो ‘मेल्टडाउन’ देखिनुमा फेडको आक्रामक ब्याजदर वृद्धिलगायत कारणहरुलाई दोषी मानिएको छ । अहिले चाँहि फेडले ‘ओहो मैले बैंकिङ क्षेत्रमा उल्ट्याउनै नसक्ने क्षति त गरेको छैन नी ?’ भन्ने आशा अनि प्रार्थना गरेर बसिरहेको विज्ञहरुले औंल्याउन थालेका छन् । एसभी बैंकको पतनपछिको १ हप्ताभित्र अमेरिकाका क्षेत्रीय बैंकहरुले मात्रै ९५ अर्ब डलरभन्दा धेरैको बजार पूँजीकरण गुमाएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com