
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका हवाइ सेवा कम्पनीलाई धमाधम कारबाही गर्न थालेको छ।
उडान सुरक्षामा ‘हेलचेक्र्याइँ’ गरेको भन्दै प्राविधिक कर्मचारीदेखि पाइलटसम्मलाई निलम्बन गरेको हो।
प्राधिकरणले नेपाल एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्सका कर्मचारीलाई कारबाही गरिसकेको छ।
गत सोमबार ताप्लेजुङ–काठमाडौं उडानको क्रममा नेपाल एयरलाइन्सले पुरुष यात्रुलाई महिलाको रुपमा रेकर्ड राखेर उडानमा सहभागी गराउँदा निगमका कर्मचारीहरु निलम्बमा परेका छन्।
प्राधिकरणका अनुसार तोकिएभन्दा बढी तौल लिएर उडानमा सहभागी गराएको समेत पाइएकाले उडानमा संलग्न क्रु, फ्लाइट डिसप्याचर र ताप्लेजुङ एयरपोर्टका ग्राउन्ड स्टाफलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएको छ।
पछिल्ला केही दिनयता प्राधिकरणले उडान अनुगमन र कैफियत भेटिए तत्काल कारबाहीको शृंखलालाई तीव्रता दिएको छ। प्राधिकरणले त्रिभुवन विमानस्थलमा वाइडबडी जहाजमा ककपिटका झ्याल खुला राखेका २ इन्जिनियरलाई निलम्बन गरिसकेको छ।
नेपाल वायुवेवा निगमको ए३३० अन्नपूर्ण जहाजमा झ्याल खुला राखेका थिए।
पाइलट, को–पाइलट बस्ने ककपिट ‘मेन्टेनेन्स’पछि रातभर प्राविधिकले झ्याल खुला राखेको भन्दै प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्म उनीहरुलाई निलम्बन गरेको जनाएको छ।
त्यस्तै, प्राधिकरणले फागुन २५ गते विराटनगर उडानको क्रममा इन्जिनमा समस्या भएपछि श्री एयरलाइन्सका जहाज ग्राउन्डेड गर्ने निर्णय समेत गरेको थियो। प्राधिकरणले श्री एयरलाइन्को जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो।
‘प्राधिकरणले विज्ञहरुको टोलीद्धारा एयरलाइन्सका सबै जहाजको प्राविधिक जाँच, सुरक्षा तथा कम्पनीको वित्तिय स्थितिको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि सुरक्षित भएकाले पुनःसेवा सञ्चालन गर्न अनुमति दिएको छ’, कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए।
प्राधिकरणका उडान अनुमति शाखा डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले सुरक्षा मापदण्ड कागजमा सीमित भएकाले गल्ती गर्दा सम्बन्धितलाई कारबाही गर्न थालिएको बताए।
‘शून्य सहनसिलताको नीति लिएर कारबाही अगाडि बढाएका छौँ’, सूचना अधिकारी समेत रहेका भुलले भने, ‘अहिले तत्काल गल्ती गर्नेलाई सम्बन्धित व्यक्तिलाई ग्राउन्डेड गर्ने र छानबिन गरी कारबाही गर्ने नीति रहेका छौँ।’
आईकाओले नेपालको हवाइ सुरक्षा राम्रो रहेको रिपोर्ट दिएको प्रचार गरे पनि कागजमै मात्र सीमित भएको उनले बताए।
‘अहिले एउटा सानो गल्तीले १ महिना ग्राउन्डेड हुनुपर्दा ठूला गल्ती हुने सम्भावना कम हुन्छ’, भुलले भने, ‘व्यक्तिलाई जिम्मेवार बनाएरै जानुपर्छ।’
नेपालखबरबाट