बैंकको चर्को व्याजको कारण पोखरा ट्रेड मलका ८० सटर खाली

- पर्यटकीय नगरी पोखराका व्यस्त बजारमा सटर खाली


     नेपालय न्युज,     
     चैत ७ गते २०७९


दीननाथ बराल,

विगतमा पोखराको मुख्य चोकदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्ममा एउटा सटर पाउन वर्षौं कुर्नुपर्ने बाध्यता थियो । सटरका लागि अतिरिक्त पैसा बुझाउनुपर्ने बाध्यतामा व्यवसायी थिए । तर, हिजोआज पोखराका त्यही व्यस्त र मुख्य बजार क्षेत्रका सटर खाली छन् । व्यवसाय नचलेपछि व्यापारीले सटर खाली गरेर घरधनीलाई चाबी बुझाएका छन् । पछिल्ला दिनमा दैनिकजसो सटर खाली हुने क्रम बढेको छ ।

पोखराको मुख्य बजार र चोकमा मात्र होइन, पोखरा ट्रेड मलमै अहिले ८० वटा सटर खाली छन् । ५ सयभन्दा बढी सटर भएको यो मलमा पछिल्ला केही महिनामा नै ८० सटर खाली भएका हुन् । व्यवसायीहरुका अनुसार कोभिड महामारी र त्यसपछि यो वर्ष बजारमा देखिएको सुस्तताका कारण व्यापार खुम्चिएको छ । गत वर्षहरुका तुलनामा व्यापार आधाजसो घटेपछि सटर लिएर व्यवसाय गर्ने जोखिम निजी क्षेत्रले उठाउन सकेको छैन । यही कारण व्यस्त बजारमा पनि सटर खाली हुन पुगेका हुन् ।

पोखरा ट्रेड मल सञ्चालक समितिका अध्यक्ष मीनराज काफ्लेले हाल मलमा ८० वटा सटर खाली भएको जानकारी दिए । ५ सय ४ वटा सटर रहेको मलमा हाल ब्राण्डेड पसल नै विस्थापित भएको काफ्लेले बताए । विगतमा सटर लिन व्यवसायीले अनुरोध र अन्य ठाउँबाट दबाबसम्म दिने गरेकामा अहिले आफूले सटर भाडामा दिन अनुरोध गर्नुपर्ने अवस्था आएको उनले बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंकको चर्काे ब्याजदर, कर्जा नपाउने अवस्था र व्यापारमा आएको मन्दीले व्यवसायी हतोत्साही बनेर पलायन हुन थालेको बताए । उनका अनुसार कोभिड महामारीमा सटर बन्द गरेर पनि व्यवसायीले राज्यलाई कर र घरधनीलाई भाडा तिरेका थिए । त्यसबेला कोभिडपछि व्यापार हुन्छ भन्ने आश व्यवसायीमा थियो । तर, अहिले तत्कालै अर्थतन्त्र थप चलायमान हुने आशा व्यवसायीमा देखिँदैन । त्यही कारण उनीहरु व्यवसाय छोडेर अन्य पेशातर्फ लागेका छन् । खासगरी अहिलेको बैंक ब्याजदरमा व्यवसाय गर्न सम्भव नहुने देखेर पेसा परिवर्तनतर्फ लागेको धेरै व्यवसायीले बताएको उनले जानकारी दिए ।

उनले भने, “हामीले केही समयअघि ७ देखि ९ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले ठ्याक्कै दोब्बर भएको छ । यही बेला बजारमा व्यापार छैन, कसरी कर्जा र ब्याजको सन्तुलन मिलाउने ?” राज्यले समयमै यसलाई उचित ढंगले व्यवस्थापन नगरे आगामी दिनमा समस्या झनै चर्को हुने उनले बताए । निक्षेपमा नै बढी ब्याज पाउने भएपछि पैसा हुनेले उद्योगधन्दा र व्यवसाय नै गर्न छाड्न थालेको अध्यक्ष प्रजापतिले जनाए । सरकारले विकास बजेट समयमै खर्च गर्न नसक्नुले पनि बजारमा तरलता कम हुँदा समस्या आएको अध्यक्ष प्रजापतिले बताए ।

मल अध्यक्ष काफ्लेले विश्वकै आर्थिक मन्दीका कारण पोखरामा पनि प्रत्यक्ष प्रभाव परेको बताए । उनले अब पनि सरकारले केही गर्न नसके जेनतेन पर्ख र हेर को अवस्थामा रहेका व्यवसायी पनि विस्थापित हुने दाबी गरे । पोखरामा मात्र नभई देशका ठूला सहरहरुमा सटर खाली हुनुले अर्थतन्त्र चलायमान हुन नसकेको बुझ्नुपर्ने काफ्लेको भनाइ थियो ।

पोखराका अर्का युवा व्यवसायी राजु कायस्थले अझै केही समय यस्तै अवस्था रहे ठूला व्यवसायी क्षेत्र नै टाट पल्टने दाबी गरे । कोभिड–१९ बाट आर्थिक लय गुमाउँदै आएको अर्थतन्त्रमा डलरको मूल्य वृद्धिले झनै थप समस्या हुँदै आएको उनले जनाए । उनले भने,“हामीले केही समयअघि कुनै वस्तु बिक्री गर्दा करिब १० देखि २० प्रतिशतसम्म मार्जिन (मुनाफा) खाने गथ्र्यौं । आज वस्तुको मूल्य बढ्यो तर मार्जिन ५ देखि ७ प्रतिशतभन्दा कम हुन थाल्यो । यही बेला बैंकको ब्याजदर दोब्बरले तिर्नुपर्ने अवस्था छ । यस्तोमा व्यवसायलाई निरन्तरता कसरी दिन सक्छौं ?”

गोर्खाली पानी र पोखरा फेप हाउसका सञ्चालक कायस्थले अब बैंक तथा वित्तीय क्षेत्रबाट कम्तिमा पनि एक अंकमा ब्याजदर कायम गर्नुपर्ने माग गरे । नेपालमा भ्रष्टाचार गरी जम्मा गरेको पैसा र कालो धनसमेत रहेकाले त्यसलाई राज्यले एउटा नीतिबाट बाहिर आउने वातावरण सिर्जना गर्नुपर्ने कायस्थको सुझाव छ ।

कारोबारबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com