घाटा कम गर्न बाइडेनले रातारात बढाए कर


     नेपालय न्युज,     
     फागुन २७ गते २०७९


अमेरिकी राष्ट्रपति जो बाइडेनले घरेलु कम्पनी, लगानीकर्ता र धनाढ्यहरुमाथिको कर बढाएका छन् ।

आगामी दशकमा संघीय घाटा करीब ३० खर्ब डलर घटाउन ह्वाइट हाउसको योजनाको अन्तर्गत कर बढाइएको हो । बिहिबार मध्यान्ह फिलाडेल्फियामा बाइडेनले आफ्नो बजेट योजना सार्वजनिक गरेका थिए ।

क्यापिटल हिलमा कर्जा सीमाको विषयमा डेमोक्रेट र रिपब्लिकनहरुको बीच चर्को विवाद नजिकिदैंछ । यस्तोमा बाइडेनले भने आफ्नो पल्ला भारी बनाउन सो पहल गरेका छन् ।

नोभेम्बरको मध्यावधि निर्वाचन पछि प्रतिनिधि सभामा रिपब्लिकनहरुको वर्चश्व छ । सन् २०२४ मा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भिड्नु अगाडि बाइडेनले आफ्नो आर्थिक भिजन स्पष्ट पारिरहेका छन् ।

डेमोक्रेटहरुले बजेटमा उल्लेख्य कटौती नगरेसम्म आफूले संघीय कर्जा सीमा बढाउने विषयमा सहमत नहुने रिपब्लिकनहरूले बताइरहेका छन् । रिपब्लिकनका प्रतिनिधि सभा नेतृत्वले बाइडेनको प्रस्तावलाई लापरवाहपूर्ण र फिटिक्कै गम्भीर नरहेको भनेका छन् ।

उनीहरुले सरकारको वाहियात खर्च कम गर्न अनुरोध गरिरहेका छन् । रिपब्लिकनहरुले वैकल्पिक बजेट सार्वजनिक गर्न वा घाटा कम गर्ने उपायहरु सार्वजनिक गरेका छैनन् । बाइडेनले आफ्नो बजेटमा युक्रेन र नेटोलाई दिँदै आएको टेवामा निरन्तरता, ज्येष्ठ नागरिक र गरिबको स्वास्थ्य हेरचाहमा थप लगानी लगायत डेमोक्रेटिक नीतिगत प्राथमिकतामा खर्बौ डलर खर्च छुट्याएका छन् ।

ठूला कम्पनीहरु अनि धेरै कमाउनेहरुमाथिको कर बढाएरै भएपनि ह्वाइट हाउस बढेको खर्चको भर्पाई गर्न चाहन्छ । बाइडेनले अर्बपतिहरुलाई न्यूनतम् २५ प्रतिशत कर लगाउने, कम्पनीहरुको कर दर २८ प्रतिशत पुर्‍याउने र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुको विदेशी कमाईको कर हालको १० दशमलव ५ प्रतिशतबाट बढाएर २१ प्रतिशतमा पुर्‍याउन खोजेका छन् ।

कम्पनीहरुको शेयर पुनःखरिदमा लाग्दै आएको शेयर वाईब्याक चारगुणा बनाउँदै हालको १ प्रतिशत बाट बढाएर ४ प्रतिशतमा पुर्याउन पनि ह्वाइट हाउसको प्रस्ताव छ । बाइडेनका पूर्ववर्ति डोनल्ड ट्रम्पको वार्षिक ४ लाख डलर भन्दा धेरै कमाउने अमेरिकीहरुलाई कर छुट दिने नीतिबाट यो ठिक उल्टो छ । वार्षिक आम्दानी १० लाख डलर भन्दा धेरै भएकाहरुको पूँजीगत लाभ कर पनि बढाउने बाइडेन प्रशासनको प्रस्ताव छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com