मर्स्याङ्दीवारिका प्रधानमन्त्री, पारिका राष्ट्रपति


     नेपालय न्युज,     
     फागुन २५ गते २०७९


आम निर्वाचन–२०७९ पछि निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका सन्दर्भमा एउटा रोचक संयोग जुर्न पुगेको छ। निर्वाचनमा सीमा जोडिएका निर्वाचन क्षेत्रबाट विजयी दुई शीर्ष नेताहरु यो निर्वाचनपछि प्रधानमन्त्री र राष्ट्रपति निर्वाचित हुन पुगेका हुन्।

यसमध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने पौडेल तनहुँ–२ बाट। राष्ट्रपति निर्वाचित भएसँगै पौडेलको प्रतिनिधि सभा सदस्य पद संविधानतः रिक्त भएको छ।

सो निर्वाचन क्षेत्र प्रधानमन्त्री प्रचण्ड निर्वाचित गोरखा–२ सँग जोडिन्छ। प्रधानमन्त्री प्रचण्ड र ‘प्रेसिडेन्ट इलेक्ट’ (निर्वाचित तर कार्यभार सम्हालिनसकेका राष्ट्रपति) पौडेलको निर्वाचन क्षेत्रलाई मर्स्याङ्दी नदीले जोडेको छ।

यसमध्ये प्रचण्डले यो निर्वाचन क्षेत्र २०७९ को निर्वाचनमा मात्र रोजेका हुन्। प्रत्येक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डले चितवन–३ मा कठिन हुने भएपछि डा. बाबुराम भट्टराईले प्रतिस्पर्धा गर्दै आएका गोरखा–२ रोजेका थिए।

त्यसो त पौडेलका लागि पनि यो परम्परागत निर्वाचन क्षेत्र भने होइन। २०४८ को निर्वाचन गोरखासँग सीमा जोडिएको तनहुँ–१ बाट प्रतिस्पर्धा गरे पनि २०५१ देखि भने उनी तनहुँ–२ बाट प्रतिस्पर्धा गर्न थाले, जुन निर्वाचन क्षेत्र पश्चिम लमजुङ, पूर्वी कास्की र स्याङ्जाको उत्तरी क्षेत्रसँग जोडिन्थ्यो। २०७४ पछि भने उनको निर्वाचन क्षेत्र फेरि गोरखासँग जोडिन पुग्यो।

२०७२ मा संविधान जारी भएपछि निर्वाचन क्षेत्र हेरफेर भए। त्यसमध्ये २०७४ को निर्वाचनमा प्रतिस्पर्धाका लागि पौडेलले तनहुँ– २ रोजे। वाम गठबन्धनका कारण त्यो निर्वाचनमा पराजित उनी आम निर्वाचन–२०७९ मा भने सहजै विजयी भए।

२०७४ मा पराजय र २०७९ को विजय दुवैमा माओवादी केन्द्र निर्णायक रह्यो। माओवादीको प्रभाव रहेको बन्दीपुर र आँबुखैरेनी गाउँपालिका यसै निर्वाचन क्षेत्रमा पर्छन्। त्यसैले, २०७४ मा वाम गठबन्धन हुँदा उनी पराजित भए, यसपटक माओवादी केन्द्रको साथका कारण विजयी भए।

पौडेलको निर्वाचन क्षेत्र जोडिएको गोरखा–२ भने माओवादीको प्रभाव रहेको निर्वाचन क्षेत्र हो। २०७४ बाहेक सो निर्वाचन क्षेत्रमा पहिलो संविधान सभा निर्वाचदेखि माओवादीले विजय हासिल गर्दै आएको छ।

त्यही कारण आफ्नो गृहजिल्ला चितवन–३ चुनौतीपूर्ण देखेपछि प्रचण्डले गोरखा–२ रोजेका थिए। प्रचण्डका लागि सो निर्वाचन क्षेत्र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खाली गरिदिएका हुन्। त्यसअघि सो निर्वाचनमा पूर्वमाओवादी नेता डा. भट्टराई विजयी बन्दै आएका थिए।

आम निर्वाचन–२०७९ मा संयोगवश सीमा जोडिएका दुई निर्वाचन क्षेत्रबाट चुनाव लड्न पुगेका सत्ता गठबन्धनका दुई नेता निर्वाचनपछिको पहिलो प्रधानमन्त्री र राष्ट्रपति बन्ने संयोगसमेत जुर्न पुगेको छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com