
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ८ दलीय गठबन्धनका भ्रातृ विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका ६२ वटा आंगिक क्याम्पसमा आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ। २०७३ पछि हुन लागेको स्ववियु चुनावमा मिलेर जान सहमझदारी बनेको विद्यार्थी नेताहरुले बताएका छन्। यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन। विद्यार्थी संगठनका नेताहरुले द्विपक्षीय, त्रिपक्षीय छलफल गरिरहेको जनाएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाबीच केन्द्रमा गठबन्धन छ।
केन्द्रमा जस्तै विद्यार्थी संगठनहरुले गठबन्धन बनाएर चुनावमा जाने सैद्धान्तिक समझदारी बनाइसकेको अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले जानकारी दिए।
‘हामीले केन्द्रमा रहेको गठबन्धन अनुसार स्ववियू चुनावमा मिलेर जाने सैद्धान्तिक सहमति गरिसकेका छौँ,’ पुनले नेपालखबरसँग भने, ‘८ दलकै विद्यार्थीसँग सहकार्य गरेर जाने निश्चित जस्तै छ तर औपचारिक निर्णय भइसकेको छैन।’ मिलेर जान सहमति जुटेपनि कसरी जाने? भन्ने ठोस नभइसकेको उनले बताए। ‘यसका लागि एक दुईदिनमा आठै दलका विद्यार्थी संगठनको बैठक बसेर निर्णय गर्छाैं,’ उनले थपे। यसबारे शनिबार बैठक बस्ने तयारी छ।
८ दलमध्ये नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठन बनेको छैन। अन्य ७ दलकै विद्यार्थी संगठन छ। स्ववियु चुनावमा भाग लिने दलहरुले शुक्रबार (फागुन १९) संगठन दर्ता गराएका छन्। एकीकृत समाजवादी निकट अनेरास्ववियूकी महासचिव आरती लामाले पनि ८ दलबीच सहकार्य गर्ने बताइन्। ‘हामीले मिलेर जाने भनेर नीतिगत समझदारी बनाइसकेका छौँ,’ उनले नेपालखबरसँग भनिन, ‘भोलि या पर्सीसम्म छलफलबाट एउटा निष्कर्षमा पुग्छौं।’ उनका अनुसार उपत्यकाका क्याम्पसबाहेक अन्य क्याम्पस कमिटीलाई सहकार्यको जिम्मा दिइनेछ। देशभर त्रिविबाट सम्बन्धन पाएका क्याम्पसहरु मध्ये झण्डै ३ सयमा पनि स्ववियू चुनाव हुनसक्ने उनले बताइन्। यदि आठ दलीय गठबन्धनबीच सहकार्य भएमा नेकपा एमालेनिकट अनेरास्ववियुसँग देशभर प्रतिस्पर्धा हुनेछ।
नेपालखबरबाट