विश्वकै सबैभन्दा धनी बने एलन मस्क

-


     नेपालय न्युज    
     फागुन १६ गते २०७९


अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरुको सूचीअनुसार एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ थपिएपछि उनी पुनः सूचीको पहिलो नम्माबरमा आएका छन् ।

मंगलवार ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा मस्कको नेटवर्थ १ खर्ब ८७ अर्ब डलर छ । यो अघिल्लो दिनको भन्दा ६ अर्ब ९८ करोड डलर धेरै हो । सूचीमा दोस्रो स्थानमा झरेको फ्रान्सेली लक्जरी व्यापारी बर्नार्ड आर्नोको नेटवर्थ भने १ खर्ब ८५ अर्ब डलर छ । एक दिन अघिको तुलनामा आर्नोको सम्पत्ति पनि ३ अर्ब ६९ करोड डलर बढेको छ । तेस्रो स्थानमा १ खर्ब १७ अर्ब डलरसहित अमेरिकी अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनका जेफ बेजोस छन् ।

यो वर्षको अहिलेसम्मको अवधिमा टेस्लाको शेयर मूल्य ७० प्रतिशतभन्दा धेरैले बढेको छ । केही महीना यता प्रविधि क्षेत्रको शेयरमा देखिएको सेल अफ र अन्य विवादका कारण कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अर्बपतिको सूचीमा मस्कको वरियता पनि खस्किएको थियो । डिसेम्बरमा आर्नोले मस्कलाई उछिनेर विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । जनवरी ३ मा टेस्लाको शेयर मूल्य प्रतिकित्ता १०८ डलर १० सेन्ट थियो । सोमवार बजार बन्द हुँदा यो २०७ डलर ६३ सेन्टमा उक्लिएको थियो ।

गएको वर्ष मस्कको लागि निकै उतारचढावमय रह्यो । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता टेस्लाको शेयरमा दबाब देखिएको छ । तर यो वर्ष मस्कको लागि फापेको देखिन्छ । मस्कको अहिलेको सम्पत्ति सन् २०२१ को अन्त्यतिरको भन्दा चाँहि निकै कम हो । त्यति बेला उनको नेटवर्थ ३ खर्ब डलर भन्दा धेरै थियो । त्यसपछि उनले टेस्लाको करीब २० अर्ब डलरको शेयर बेचेर ट्विटर किन्ने पैसा जुटाउन थाले । अनि २०२२ मा टेस्लाको शेयर मूल्यमा तीव्र कमी आयो ।

अमेरिकाले महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाउन थालेपछि टेस्लाको शेयर झनै रातो भयो । यो वर्ष पनि मस्कले आफ्नो अधिकांश ध्यान ट्विटर मै दिएका छन् । तर अहिले भने लगानीकर्ताहरुले टेस्लामा फर्किन थालेका छन् । मस्कले टेस्लाको झन्डै १ करोड १६ लाख कित्ता शेयर परोपकारी संस्थानालई दिएका थिए । यसको मूल्य २ अर्ब ४० करोड हाराहारी भएको बताइएको छ । मस्कले सन् २०२१ म पनि करीब ६ अर्ब डलर बराबरको शेयर दान दिएका थिए । यो विश्वको इतिहासको सबैभन्दा ठूलो दान थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com