काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा

-


     नेपालय न्युज    
     फागुन १४ गते २०७९


काठमाडौं । काठमाडौं उपत्यकामा पाँच महिनापछि आइतबार वर्षा भएको छ ।

यसअघि गत अक्टोबर १४ मा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ ।

आइतबार दिउँसो गण्डककी प्रदेश, बाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को केही स्थानमा वर्षा भइरहेको छ । विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बदली हुने प्रक्षेपण गरेको थियो ।

आइतबार दिउँसो काठमाडौं उपत्यकाको उत्तरपूर्वी स्थानमा वर्षा भएको थियो । हिउँद सकिन लाग्दा मुलुकका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । विभागका अनुसार नेपालमा प्रि–मनसुन सुरु हुन लागेको छ ।

नेपालमा यस वर्ष हिउँदमा औसतभन्दा कम वर्षा भएको विभागले जनाएको छ । पछिल्लो प्रतिवेदनले बितेका १७ वर्षमा ११ हिउँद सुख्खा भएको देखाएको छ । यो वर्ष हिउँदे वर्षा कम हुँदा यसले कृषि प्रणाली र उत्पादनमा समेत केही असर पुर्‍याउने विज्ञहरुले बताएका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com