आठ दलबीचको समझदारी नै राष्ट्रिय सहमति हो, एमाले फुत्कन सक्दैन : प्रचण्ड

-


     नेपालय न्युज    
     फागुन १३ गते २०७९


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिको रुपमा आफूले लिएको बताएका छन्।

महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘८ दलको बीचमा जे भएको छ यो राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाई छ। अहिले हामी त मिल्नु जरुरी थियो नै सबैलाई राजनीतिक प्रक्रियामा इन्गेज गर्न जरुरी थियो।’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो।

सबैभन्दा ठूलो दलको हिसाबमा नेपाली कांग्रेसलाई राष्ट्रपति पद दिन आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेको पनि उनले बताए।

‘मैले फेरि एकपटक पहल लिनुपर्छ भन्ने विश्वासका साथ हिजोकै दिन मैले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्दा तपाई र म राष्ट्रिय सहमतिको सुत्राधार बनौं। नेपाली कांग्रेसलाई तपाईं र मेरो सहमतिले राष्ट्रपति दिउँ भनेको थिएँ,’ प्रधानमन्त्रीले भने, ‘सबैभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ। तपाईंको सभामुख भएकै छन्। राष्ट्रियसभाको अध्यक्ष पनि छन्। हामी दुइटै गएर कांग्रेसलाई राष्ट्रपति दियौं भन्यो भने नयाँ राष्ट्रिय सहमति गरौं भनेको थिएँ। त्यतातर्फ उहाँले मान्नुभएन। त्यहाँ केही छन् त्यतापट्टि म जान चाहन्न।’

साथै, अब नेकपा एमाले कतै जान सक्ने स्थितिमा समेत नरहेको उनले बताए।

‘एमाले पनि अब कतै जानसक्ने स्थिति छैन,’ प्रधानमन्त्री प्रचण्डले अघि भने।

शनिबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले आफूसमक्ष राजीनामा बुझाएको भन्दै अब कानुनी रुपमा नयाँ प्रक्रियामा जाने उनले बताए।

‘हो, उहाँहरु प्रतिपक्षमा जान सक्नुहुन्छ, आज मात्रै म कहाँ राप्रपाका सबै मन्त्रीले राजीनामा दिनुभयो। सम्भवतः अब हामी कानुनी हिसाबले नयाँ प्रक्रियामा जानु नै छ,’ प्रचण्डले भने, ‘तर फेरिपनि एमालेको सभामुख त हुनुुहुन्छ। उहाँहरु त्यहाँबाट फुत्किएर जान त सक्नुहुँदैन। हिजो ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्नु आम राष्ट्रकै सहमति हो भनेको थिएँ।’

WP2Social Auto Publish Powered By : XYZScripts.com