विश्व बैंक प्रमुख डेभिड मालपासद्वारा राजीनामा

-


     नेपालय न्युज    
     फागुन ४ गते २०७९


काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा दिने घोषणा गरेका छन् । कार्यकाल बाँकी नै रहँदा जुनको अन्त्यदेखि लागू हुने गरी ६६ वर्षीय मालपासले बुधबार राजीनामा दिने घोषणा गरेका छन् ।

उनले चार वर्षभन्दा बढी समयसम्म बैंकको प्रमुखको भूमिका निर्वाह गरेका छन् । उनको कार्यकाल सन् २०२४ सम्म थियो । जुन ३० मा विश्व बैंकको चालू आर्थिक वर्ष सकिन्छ ।

उनलाई सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच वर्षका लागि विश्व बैंकको प्रमुखमा नियुक्त गरेका थिए । अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो शेयरधनी हो । बैंक प्रमुखको नियुक्ति अमेरिकाले नै गर्ने गरेको छ ।

मलपासको कार्यकाल निकै चुनौतीपूर्ण रह्यो । उनको कार्यकाल शुरु भएयता विश्वले कोरोना भाइरसको महामारी, युक्रेनमा रुसको आक्रमण जस्ता संकटहरूको सामना गर्यो ।

उनको कार्यकाल विवादरहित भने रहेन । खनिज इन्धन प्रयोगले पृथ्वीको तापमान बढाइरहेको भन्ने वैज्ञानिक निष्कर्ष मान्न मालपासले अस्वीकार गरेपछि महिनौंदेखि उनको राजीनामा माग चर्किएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com