सिरियाको उत्तर पश्चिम इलाकामा भूकम्पले ध्वस्त पारेको एक घरको भग्नावशेषमा जन्मिएकी बालिकालाई धर्मपुत्रीको रूपमा स्वीकार गर्न हजारौँ मानिसले प्रस्ताव राखेका छन् ।
टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्की र नजिकैको सिरियामा हालसम्म २१ हजारभन्दा बढीको मृत्यु भएको छ । यहाँ द्रुत राहत र उद्धार कार्य जारी रहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
दुवै देशमा पीडा, शोक र आशङ्काको बादल छाइरहेको छ ।
प्रकोप प्रभावित क्षेत्रबाट पनि केही यस्ता कथा बाहिर आइरहेका छन् जुन पत्याउनै गाह्रो छ ।
यी शिशुको कहानी पनि अपत्यारिलो नै छ ।
शिशुको नाम राखियो – ‘अया’
भग्नावशेषमा जन्मिएकी यी बालिकाको नाम अया राखिएको छ । अरबीमा, अया शब्दको अर्थ करिश्मा हो ।
जब यो शिशुलाई भग्नावशेषबाट बाहिर निकालियो, उनी आमाको नाभिमै जोडिएकी थिइन् ।
भूकम्पका कारण अयाकी आमा, बुबा र चारै दाजुभाइको मृत्यु भएको छ । अया अहिले अस्पतालमा छिन् ।
अयाको हेरचाह गरिरहेकी डाक्टर हानी मारुफ भन्छिन्, ‘सोमबार यहाँ आइपुग्दा उनको अवस्था निकै नाजुक थियो । उनको शरीरमा धेरै ठाउँ सुन्निएको थियो र घाउहरू थिए । उनको शरीरको तापक्रम पनि निकै कम थियो र उनलाई सास फेर्न गाह्रो थियो ।’
अहिले ती बालिकाको अवस्था सामान्य रहेको बताइएको छ ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भयो
उद्धारकर्ताहरूले अयालाई उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यस भिडियोमा एक व्यक्ति धुलोले छोपिएकी नवजात शिशुलाई भग्नावशेषबाट बाहिर निकाल्ने बित्तिकै दौडिरहेको देखिन्छन् । यसपछि यी बालिकाका टाढाका नातेदार खलील अल–सुवादीले उनलाई सिरियाली सहर अफ्रिनस्थित डा. मारुफकहाँ लगे ।
त्यसयता हजारौँले सामाजिक सञ्जालमा शिशुलाई धर्मपुत्री बनाउने इच्छा व्यक्त गरेका छन् ।
एक जनाले लेखेका छन्, ‘म यो शिशुलाई धर्मपुत्रीको रूपमा ग्रहण गरेर राम्रो जीवन दिन चाहन्छु ।’
एक कुवेती टिभी एन्करले भनेकी छिन्, ‘कानुनले अनुमति दिन्छ भने म यी शिशुलाई धर्मपुत्री बनाउन र उनको हेरचाह गर्न तयार छु ।’
अस्पतालले अस्वीकार गर्यो
अस्पतालका प्रबन्धक खालिद अत्तियाले आफूलाई संसारभरिबाट बेबी अयालाई धर्मपुत्रीको रूपमा ग्रहण गर्न दर्जनौँ फोन आएको बताएका छन् ।
डा. आतियाकी छोरी अया भन्दा चार महिना मात्र जेठी छिन् ।
उनी भन्छन्, ‘अहिलेका लागि म कसैलाई पनि उनलाई धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन्न । टाढाका आफन्त नआएसम्म आफ्नै छोरीले जस्तै हेरचाह गरिरहेको छु ।’
अहिले डा. आतियाकी श्रीमतीले पनि छोरीसँगै अयालाई दूध खुवाइरहेकी छिन् ।
अर्कोतर्फ, अयाको गृह नगर जिन्दयारिसमा उद्धार कार्य जारी छ ।
त्यहाँका एक स्थानीय पत्रकार मोहम्मद अल–अदनानले बीबीसीलाई भने, ‘त्यहाँ जताततै विनाश भएको छ । त्यहाँ अझै पनि धेरै व्यक्तिहरू भग्नावशेषमुनि दबिएका छन् । र धेरै मानिसहरू अझै पनि भग्नावशेषबाट बाहिर निकालिएका छैनन् ।’
अल–अदनानको अनुमान अनुसार भूकम्पमा सहरको ९० प्रतिशत पूर्ण रूपमा ध्वस्त भएको र हालसम्म गरिएको उद्धार कार्य स्थानीय जनताले मात्र गरेका हुन् ।
भग्नावशेषबाट मानिसहरूलाई बचाउन अनुभवी ह्वाइट हेल्मेटका उद्धारकर्ताहरूले यहाँ उद्धार कार्य सञ्चालन गरिरहेका छन् ।
मोहम्मद अल–कमाल लेख्छन्, ‘भवनहरूको अस्थिरताका कारण उद्धारकर्मीहरू पनि भग्नावशेषमुनि फसेका हुन सक्छन् । हामीले तीन वटा शवहरू भग्नावशेषबाट निकालेका छौँ । हामीलाई लाग्छ कि एउटा परिवार अझै पनि भित्र जीवित छ । हामी हाम्रो प्रयास जारी राख्नेछौँ । ’
सिरियामा भूकम्पपछि तीन हजारभन्दा बढीको मृत्यु भएको समाचार छ ।
यद्यपि विद्रोही नियन्त्रित क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या कति हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
एजेन्सी