अमेरिकी विदेशमन्त्रीकाे चीन यात्रा स्थगित


     नेपालय न्युज,     
     माघ २१ गते २०७९


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले आफ्नो चीन यात्रा स्थगित गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्रमा चिनियाँ जासूस बेलुनको उपस्थितिले अमेरिकी सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै उनले चिनियाँ भ्रमण स्थगित गरेका हुन् ।

भोलिका लागि ब्लिङकेनको चीन भ्रमण तय भएको थियो । तर ब्लिङकेनले चिनियाँ हवाइ निगरानीका कारण अमेरिकी सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै आफ्नो भ्रमण स्थगित गरेका हुन् ।

साथै उक्त निगरानीले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि उनले बताए । चीनले भने मौसम विज्ञान अनुसन्धानका लागि प्रयोग गरिएको बेलुन अमेरिकी वायुक्षेत्रमा प्रवेश गरेकोमा दुःख व्यक्त गरेको छ । तर अमेरिकाले यसलाई ‘उच्च उचाइको निगरानी बेलुन’ भएको उल्लेख गरेको छ ।

चीनको विदेश मन्त्रालयले भने आज विज्ञप्ति जारी गर्दै अमेरिकामाथि चिनियाँ उडानलाई दुर्घटनाको रुपमा व्याख्या गर्दै अमेरिकी राजनीतिज्ञ र मिडियाले बेइजिङलाई बदनाम गर्न परिस्थितिको फाइदा उठाएको आरोप लगाएको छ ।

चीनले आफू सधैँ अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र अन्य देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने जनाएको छ। साथै चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले चीन भ्रमणको कुनै घोषणा नगरेको भन्दै उक्त भ्रमणको विषय उसको आफ्नै सवाल भएको जनाएको छ । र आफूहरूले त्यसको सम्मान गर्ने पनि चिनियाँ विदेश मन्त्रालयको भनाइ छ । अमेरिकी रक्षा मन्त्रालयले ल्याटिन अमेरिकामा अर्को चिनियाँ जासूसी बेलुन देखेको जनाएपछि चीनले उक्त विज्ञप्ति जारी गरेको हो । चिनियाँ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भने चिनियाँ विदेश मामिला आयोगका निर्देशक वाङ यीले शुक्रबार साँझ ब्लिन्केनसँग फोनमा कुराकानी गरेका थिए । साथै अमेरिकी आकाशमा भएको आकस्मिक घटनालाई शान्त र व्यवसायिक रूपमा कसरी व्यवहार गर्ने भनेर छलफल गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com