पोखरा विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायबाट दुःख व्यक्त

-


     नेपालय न्युज    
     माघ १ गते २०७९


पोखरामा आज भएको भयानक विमान दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि गहिरो दुःख व्यक्त गरेको छ।

घटनाप्रति रुस, भारत, चीन, पाकिस्तान र अमेरिकाले दुःख व्यक्त गरेका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। सन्देशमा उनले नेपाल र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्।

भण्डारीलाई पठाएको सन्देशमा उनले पुटिनले मृतकका परिवारजन र साथीप्रति सहानुभूति व्यक्त गरेका छन्।

भारतका विदेशमन्त्री एस जयंशकरले पोखरामा भएको विमान दुर्घटनाबाट आफू मर्माहत भएको ट्वीटमा उल्लेख गरेका छन्। उनले मृतक परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरुप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरुप्रति समवेदना प्रकट गर्न चाहन्छु’ ट्वीटमा उनले भनेका छन्।

पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा पर्भेज अस्रफ र उपसभामुख जहिद अक्रम दुरानीले विमान दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

‘यो शोकको घडीमा पाकिस्तान नेपाली जनता र सरकारसँग ऐक्यबद्दता जनाउन चाहन्छ’ उनीहरुले ट्वीटमा भनेका छन्।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा पाकिस्तान नेपाली जनताको साथमा रहेको उल्लेख गरेको छ।

‘पाकिस्तान सरकार जहाज दुर्घटनामा अमूल्य जीवन गुमाउनेप्रति समवेदना व्यक्त गर्न चाहन्छ। दुर्घटनाप्रति हामी दुखित छौं। मृतकका परिवारप्रति हाम्रो साथ छ’ विज्ञप्तिमा भनिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

‘हामी यो दुःखद घटनाप्रति दुखित छौं। हामीले घटनास्थल नियालिरहेका छौं। कुनै पनि अमेरिकी नागरिक परेको भन्ने जानकारी हामीलाई छैन। हामी यस घडीमा पीडित परिवारको साथमा छौं’ दूतावासले भनेको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com