
अमेरिकामा गाडी तोडफोड गरी नेपाली दूतावासको रकम लुटिएको घटनाबारे अनुसन्धान गर्न दूतावासले अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ लाई आग्रह गरेको छ।
नेपालको आग्रहलाई अमेरिकी विदेशमन्त्रालयले सकारात्मक रुपमा लिएको वासिंगटनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कुमार राज खरेलले जानकारी दिए।
‘घटनाबारे अनुसन्धान भइरहेको छ। अमेरिकी विदेश मन्त्रालयलाई अनुसन्धानमा सहयोग गर्न पटक—पटक आग्रह गरिसकेका छौं। अनुसन्धानमा सघाउने आश्वासन विदेश मन्त्रालयले दिएको छ’ खरेलले नेपालखबरसँग टेलिफोनमा भने।
त्यसैगरी ह्युस्टन शहरको प्रहरीले पनि घटनाको अनुसन्धानमा सघाउने आश्वासन दिएको छ। यद्यपी कसले उक्त रकम लुटेको हो भन्ने यकिन गर्न ह्युस्टन प्रहरीले पनि सकेको छैन। लुटेराको पहिचान नखुली आफूले शंकाकै भरमा कसैलाई पनि पक्राउ गर्न नसकिने जवाफ दूतावासलाई ह्युस्टन शहरको प्रहरीले दिएको छ।
नेपाली दूतावासले गत डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो। जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासिएर चेक बुझाएका थिए। तिनै मनी अर्डर र क्यासियर चेक लुटिएको हो।
दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको थियो। तर कति रकम बराबर लुटियो भन्ने कुरा दूतावासले खुलाएको छैन।
दूतावासले एकसाता अघि जारी गरेको विज्ञप्तिअनुसार स्थानीय समय अनुसार दिउँसो १२ः०३ बजे लुटपाट भएको थियो। घटनालगत्तै दूतावासले स्थानीय सुरक्षा निकायहरूमा जानकारी गराएको थियो। सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास जारी राखिएको उपनियोग प्रमुख खरेलले बताए।
यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै दूतावासले भनेको थियो, ‘दूतावासले सेवाग्राहीहरूको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजश्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरूले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने कुरामा दूतावास आशावादी छ।’
साथै दूतावासले कन्सुलर सेवा शिविरहरूबाट सेवा लिएका सबैलाई सेवा प्राप्त गर्दा पेस गरेका मनी अर्डर र क्यासिएर चेक रद्द गर्न सम्भव भए गर्न अनुरोध पनि गरेको थियो।
नेपालखबरबाट