
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लाले कर्मचारीहरूलाई तलब र काम गर्ने अवस्थाबारे नबोल्न निर्देशन दिएका छन् । कम्पनीको यस्तो व्यवहारले अमेरिकामा श्रम कानून उल्लंघन भएको भन्दै राष्ट्रिय श्रम सम्बन्ध विभाग (एनएलआरबी)मा उजुरी परेको छ ।
कम्पनीले उच्च स्तरका व्यवस्थापकहरूसँग आफ्नो तलब अनि काम गर्ने वातावरणलगायत कुराहरूबारे नबोल्न र आफ्नो तलब सुविधाबारे सहकर्मीहरूलाई नभन्न निर्देशन दिएको उजुरीमा बताइएको छ । कर्मचारी भर्ना, भर्ना स्थगन वा बर्खास्तलगायत अवस्थाबारे पनि कर्मचारीहरूलाई नबोल्न भनिएको छ ।
सन् २०२१ को डिसेम्बरदेखि सन् २०२२ को जनवरीसम्मै यस्ता खालका घटनाहरू भएको बताइएको छ । फेब्रुअरीमा यस मामिलाबारे श्रम अदालतले सुनवाई गर्ने भएका छन् ।
एनएलआरबीले सन् २०२१ मा मस्कलाई श्रम संगठनविरुद्ध पोष्ट गरिएको एक ट्विट नै मेटाउन बाध्य पारेर कर्मचारी संगठनका सक्रिय अभियन्तालाई जागिरबाट निकानु गैरकानूनी भएको बताएको थियो ।
यो महीनाको शुरुमा अमेरिकास्थित कम्पनीका दुई जना कामदारले एनएलआरबीमा मस्कको आलोचना गर्ने कर्मचारीलाई गैरकानूनी रूपमा निकालेको भन्दै उजुरी दिएका थिए । ट्विटरका दुई महिला कर्मचारीले कम्पनीविरुद्ध सामूहिक मुद्दा हालेका छन् । कार्यस्थलमा लैंगिक विभेदलाई प्रतिबन्ध लगाउने संघीय र क्यालिफोनिर्यातको कानून मिचेको उनीहरूको आरोप छ ।
सन फ्रान्सिस्कोको संघीय अदालतमा दायर भएको सामूहिक मुद्दाअनुसार मस्कले ५७ प्रतिशत महिला कर्मचारीलाई निकाल्दा ४७ प्रतिशत मात्रै पुरुष कर्मचारीलाई निकालेको आरोप लगाइएको छ । समाचारका अनुसार एनएलआरबीमा कम्तीमा पनि तीन जना कर्मचारीले ट्विटरविरुद्ध मुद्दा हालेका छन् । एजेन्सी