एमालेले कसलाई बनाउला राष्ट्रपति?

-


     नेपालय न्युज    
     पौष १५ गते २०७९


सागर न्यौपाने ।
चुनावपछि पाँच वर्ष प्रतिपक्षमा बस्ने स्थितिमा देखिएको नेकपा एमाले नेपाली राजनीतिमा भएको नाटकीय परिवर्तनका कारण सत्तारुढ बनेको छ। यससँगै एमालेले ३५ राजकीयसहित डेढ सय संवैधानिक पदमा आफ्ना नेता–कार्यकर्तालाई नियुक्ति दिलाउने अवसर पनि पाएको छ।

आफ्नै योजना अनुसार एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्यो। १६९ जना सांसदको समर्थन पाएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० मा प्रधानमन्त्रीमा नियुक्त गरिन्।

राष्ट्रपति भण्डारीको कार्यकाल भने २९ फागुनबाट सकिँदैछ। नयाँ गठबन्धन बनाउँदै राष्ट्रपति पद एमालेले पाउने तय भइसकेको छ। २ महिनापछि रिक्त हुन लागेको राष्ट्रपतिमा एमालेले कसलाई उठाउला त?

अहिलेसम्मको स्थितिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका सबैभन्दा बलिया दाबेदार हुन्।

एमालेका पदाधिकारीहरुले नेपालखबरलाई बताए अनुसार राष्ट्रपतिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि चर्चा छ। तर, नेम्वाङको सम्भावना अधिक रहेको उनीहरु बताउँछन्।

एमालेका एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीको चाहना पनि नेम्वाङलाई नै राष्ट्रपति बनाउने छ।

‘कांग्रेससहितको गठबन्धन भत्काउन सक्रिय रहने, माओवादीका अध्यक्ष प्रचण्डलाई विश्वासमा लिने, कसैलाई असन्तुष्ट नबनाउने कला नेम्वाङजीमा छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘संविधान र कानुनका बारेमा जानकार उहाँ अध्यक्षका विश्वासपात्र पनि हो।’

कतिपयले दुई कार्यकाल पुरा गरिनसकेकाले राष्ट्रपतिमा भण्डारी नै दोहोरिने अनुमान पनि गरेका छन्। तर, संविधानको धारा ६४ (२) स्पष्ट रुपमा दुई पटक राष्ट्रपतिमा निर्वाचित व्यक्ति राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ। तसर्थ, उनको सम्भावना देखिँदैन।

‘मैले अध्यक्षलाई बुझेसम्म नेम्वाङलाई राष्ट्रपति बनाउने उहाँको तयारी छ,’ एमालेका अर्का पदाधिकारीले भने, ‘उहाँबाहेक अरु नहुनुपर्ने हो। संविधानप्रतिको कमिटमेन्ट र अध्यक्ष ओलीलाई निकै साथ दिएको नेता हो।’

तर, प्रतिनिधित्वको हिसाबले शाक्य राष्ट्रपति बन्दा ज्यादा उपयुक्त हुने आवाज पनि एमालेमा उठेको छ।

महिला, काठमाडौँको रैथाने नेवार समुदायकी सदस्य हुनुका साथै पार्टीमा पनि वरिष्ठ भएकाले राष्ट्रपति उनी हुनुपर्ने उनका समर्थकहरुको भनाइ छ।

तर, शाक्यले भने अहिलेसम्म कसैले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव नगरेको नेपालखबरलाई बताइन्।

‘अहिलेसम्म मलाई राष्ट्रपति बनाउनुपरयो भनेर कसैले भन्नुभएको छैन,’ शाक्यले भनिन, ‘मैले अध्यक्षसँग मलाई यो पद चाहियो भनेकी छैन, चासो देखाएकी छैन। यसबारेमा सायद पार्टीभित्र छलफल चल्छ होला।’

नेम्वाङ राष्ट्रपति बने भने इलाम २ मा उपनिर्वाचन गराउनुपर्ने हुन्छ। किनभने राष्ट्रपति बन्नको लागि सांसद पदबाट राजीनामा दिनुपर्छ। सांसदको पदावधि सकिन ६ महिना बाँकी हुँदा पद रिक्त भए उपनिर्वाचन गर्नुपर्ने संविधानमा व्यवस्था छ।

त्यसैले एमालेले इलाम २ मा उपनिर्वाचनको लागि उम्मेदवार समेत तयार गरेको एमाले स्रोतले बतायो।

‘पहिला गठबन्धनविरुद्ध एमाले एक्लैले जितेको थियो। अहिले एमाले, माओवादी, राप्रपा, जसपा लगायतको गठबन्धन बनेको छ,’ स्रोतले भन्यो, ‘उपनिर्वाचनमा जो उठाए पनि जितिन्छ, उम्मेदवार तयारी अवस्थामा छन्।’

राष्ट्रपतिका लागि एमालेमा नेताहरुले लबिइङ पनि सुरु गरिसकेका छन्। अध्यक्ष ओली भेट्न पुग्ने एकथरी नेताहरुले भण्डारीलाई फेरि मौका दिन सुझाइरहेका छन्।

केही नेताहरु भने शाक्यप्रति उदार बन्नुपर्ने पक्षमा उभिएका छन्।

‘आजसम्म हेर्दा सुवास नेम्वाङजी राष्ट्रपति हुने सम्भावना ९० प्रतिशत छ,’ अध्यक्ष ओलीनिकट पदाधिकारीले भने, ‘अन्तिम अवस्थामा परिस्थिति फेरिए भिन्नै कुरा हो।’

अर्का एक पदाधिकारीले यसपटक एमालेको भागमा परेको राष्ट्रपति र सभामुख दुवै पदमा प्रत्यक्ष जितेका सांसद पठाउने तयारी छ।

‘यसपटक राष्ट्रपति र सभामुखमा प्रत्यक्ष चुनाव जितेका सांसद जानुहुन्छ,’ ती पदाधिकारीले भने, ‘त्यसो गर्दा सिनियर नै पर्नुहुन्छ।’

उता, राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि केही चर्चा भने छ। प्रधानमन्त्री प्रचण्ड सो पार्टीलाई सरकारमा सहभागी गराउने प्रयासमा छन्।

एमाले अध्यक्ष ओली पनि एकीकृत समाजवादीसँग एकता गरेर १० सिट बढाउने दाउमा छन्। त्यसरी १० सांसद थप्दा एमालेको ७८ हुन्छ। स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई एमालेमा मिलाउने प्रयास भइरहेको छ। त्यसो गर्दा एमाले र कांग्रेसको समान ८९ सांसद हुन्छन्।

त्यसैले ओलीले नेपाललाई राष्ट्रपति बनाउनसक्ने चर्चा चलेको हो। तर, एमाले र एकीकृत समाजवादी दुवै पार्टीका नेताहरु एकताको कुनै आधार बनिनसकेको बताउँछन्।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार (१५ पुस) बिहान ट्विट गर्दै अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित रहेको बताए।

‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्, पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। सङ्कटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

ज्ञवाली माधव नेपालसँग निकै आक्रोशित छन् भन्ने कुरा ट्विटले पुष्टि गरेको छ। त्यही भएर पनि माधव नेपाललाई राष्ट्रपति बनाउन एमालेभित्र सहमति जुट्ने सम्भावना कम छ।

राष्ट्रपतिबारे अहिले जति धेरै चर्चा भए पनि यसबारे माघ २५/२६ यता कुनै निष्कर्ष निस्कने देखिँदैन।

अबको राष्ट्रपति तपाईं हो भन्ने प्रश्नमा नेम्वाङले नेपालखबरलाई भने, ‘अझै राष्ट्रपतिको चुनाव हुन केही समय छ, पार्टीले निर्णय नगरी अहिले नै भन्न हतार हुन्छ।’

एमाले, माओवादीसहितको गठबन्धनको मतभार हेर्दा सजिलै राष्ट्रपति चुनाव जित्ने अवस्था देखिन्छ।

राष्ट्रपति चुनिए भने नेम्वाङ नेपालको इतिहासमै जनजाति समुदायबाट शीर्षस्थ पदमा पुग्ने पहिलो व्यक्ति बन्नेछन्।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com