पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीबाट मिलेर सरकार बनाउने प्रस्ताव आयो

-


     नेपालय न्युज    
     पौष ७ गते २०७९


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मिलेर जान प्रस्ताव आएको बताएका छन्।

बिहीबार पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा ओलीबाट सरकारमा सहकार्यबारे आएको प्रस्तावबारे प्रचण्डले ब्रिफिङ गरेका हुन्।

तर उक्त प्रस्ताव स्वीकार गर्नेबारे केही नसोचेको प्रचण्डले जवाफ दिएको पदाधिकारीलाई जानकारी दिएका थिए।

‘हिजोमात्र ओलीजीसँग शीतल निवासमा ज्येष्ठ संसदलाई शपथ दिने कार्यक्रममा भेट भएको थियो, तपाईंहरुले तस्बिर पनि हेर्नुभयो नि!,’ पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले नेपालखबरसँग भने,’ उहाँको अलिक बढी जोड यता मिलाउनुपर्छ, मिलेर जाने प्रस्ताव राख्नु भएको थियो। तर मैले हामीले अहिले तत्काल त्यतातिर सोचेका छैनौँ भने।’

फेरि ओलीले तपाईं हामी मिलेर जाँदा उपयुक्त हुन्छ भनेको प्रचण्डले ब्रिफिङमा भने।

‘तपाईं हामी मिल्दा नै उपयुक्त हुन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने, ‘कुरा ठिकै हो, तर हाम्रो यसबारे पार्टीभित्र छलफल भएको छैन, यतातिर सोचिएको पनि छैन।’

माओवादी पदाधिकारी बैठकले अहिलेलाई गठबन्धनभित्रबाटै सरकार बन्ने निष्कर्ष पनि निकालेको छ।

‘सरकार गठबन्धनभित्रबाट हुन्छ’, प्रचण्डले बैठकमा भने, ‘आपसी छलफल गर्दै सहमतिमा पुगिन्छ।’

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com