
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कर विवरण सार्वजनिक गरिने भएको छ । मंगलवार डेमोक्रेटहरुको पकडमा रहेको एउटा समितिका सदस्यहरुले ट्रम्पले राज्यलाई तिरेका करका विवरणहरु सार्वजनिक गर्ने पक्षमा मतदान गरेका छन् ।
ट्रम्पको आन्तरिक राजस्वको लेखापरीक्षणमा पनि ढिलाई भएको पाइएको छ । उनको सारा कर विवरणहरु सार्वजनिक हुन्छ कि हुन्न भन्ने अनिश्चित भएपनि ६ वर्षसम्म ट्रम्प र यी सम्बद्ध आठ ओटा कम्पनीहरुले बुझाएको करको विवरणहरु भने सार्वजनिक गरिनेछ ।
यस क्रममा केही संवेदनशील व्यक्तिगत सूचना भने संशोधन गरेर देखाइने छ । आन्तरिक राजस्व सेवा (आईआरएस) विभागले राष्ट्रपतिको कर विवरणमा सन् १९७७ सम्मको विवरण संलग्न गराउनु पर्ने शर्तको बेवास्ता गरेको हुन सक्ने बताइएको छ । आईआरएसले सन् २०१५ देखि सन् २०१९ को अप्रिल ३ सम्मको मात्रै लेखा परीक्षण गरेको छ ।
यो भनेको ट्रम्पको राष्ट्रपति कार्याकाल शुरु भएको २ वर्षभन्दा केही बढी हो ।ट्रम्पको सन् २०१६ को आय कर विवरणको लेखा परीक्षण सन २०१९ को सेप्टेम्बरमा मात्रै शुरु भएको थियो । सन् २०१७, २०१८ र २०१९ को कर विवरण पेश पनि ढिलै भएको थियो । करसम्बन्धी संयुक्त समितिले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार ट्रम्पले आफ्नो कमाईमा तिर्नु पर्नेभन्दा निकै कम रकम मात्रै कर बुझाएका छन् ।
आईआरएसले अमेरिकाका राष्ट्रपतिहरुको कर विवरणको कसरी निरीक्षण गर्छ भन्ने कुरा कानूनमा भर पर्ने डेमोक्रेटहरुको भनाइ छ । तर रिपब्लिकनहरुले भने यसरी कर विवरण सार्वजनिक गर्दा गोपनीयता सुरक्षाको सवालमा गम्भीर खतरा उत्पन्न हुने दाबी गरिरहेका छन् ।
ट्रम्पको कर विवरणमा धेरै ठाउँमा शंका उत्पन्न भएको पनि बताइएको छ । उनले छोराछोरीलाई दिएको ऋण, अघिल्लो वर्षदेखि थुप्रिदै आएका घाटा, परोपकारी संस्थाहरुलाई दिएको दान आदिमा पनि समस्या देखिएको छ । अमेरिकामा राष्ट्रपतिका उमेदवारहरुले आफ्नो आय कर विवरण सार्वजनिक गर्ने गरेका छन् ।
तर सन् २०१६ मा राष्ट्रपतिको उमेदवार हुँदा ट्रम्पले यो थिती तोडे । राष्ट्रपतीय निर्वाचन अघिको बहसमा पनि उनले आफूले संघीय सरकारलाई एक सुको कर नतिरेको अनि कर छूटबाट आफूलाई व्यक्तिगत रुपमा केही फाइदा नभएको अभिव्यक्ति दिएका थिए । ट्रम्पलाई उनको पिताले पैतृक सम्पत्तिको रुपमा झन्डै ४१ करोड ३० लाख डलर बराबरको रियल इस्टेट कम्पनी दिएका थिए ।
केही समाचारहरुलाई पत्याउने हो भने यसको अधिकांश रकम सन् १९९० को दशकमा कर छलेर लुकाइएको पैसाबाट आएको हो । पत्रिकालाई यससम्बन्धी रेकर्ड दिएको भन्दै ट्रम्पले सन् २०२१ मा टाइम्स पत्रिका र आफ्नी भतिजी मे ट्रम्पमाथि मुद्दा हालेका थिए । सन् २०१७ देखि सन् २०१८ को बीचमा ट्रम्पले ७५० डलर मात्रै संघीय आय कर बुझाएका छन् । गएको १५ मध्ये १० वर्षमा कमाएको भन्दा गुमाएको रकम धेरै भएको भन्दै उनले एक सेन्ट पनि कर तिरेनन् ।
सन् २०१७ मा औसत अमेरिकीहरुले १२ हजार २०० डलर कर तिरेका छन् । यो पूर्व राष्ट्रपति ट्रम्पले तिरेको भन्दा १६ गुणा धेरै हो । सन् २०२० मा ट्रम्प दम्पत्तिले संघीय सरकारलाई एउटै सेन्ट पनि आय कर बुझाएनन् । उल्टै ५४ लाख ७० हजार डलर फिर्ता दाबी गरेको खुलासा भएको छ । एजेन्सी