जीपीले म बसेकै घरमा अर्की श्रीमती भित्र्याए, मेरा छोराछोरीलाई मानसिक असर पर्‍यो : पूर्व मिस नेपाल उषा खड्गी

-


     नेपालय न्युज    
     मंसिर २७ गते २०७९


राधिका अधिकारी,
पूर्व मिस नेपाल उषा खड्गी अहिले ठूलो चिन्तामा छिन्, छोराछोरीको मानसिक अवस्थालाई लिएर। गत जेठ २६ गते भक्तपुर जिल्ला अदालतबाट पारपाचुके गरेकी उषा अहिले अनौठो दृश्यको साक्षी बनिरहेकी छन्। उनी बसिरहेकै घरमा उनका पूर्वपति जीपीले अर्की श्रीमती भित्र्याएका छन्। दिनहुँ जीपीकी कान्छी पत्नीसँग उषाको जम्काभेट हुन्छ।

उषा आफ्नो तनाव व्यवस्थापन गर्न सक्छिन्। तर उनका छोराछोरी यो सबै कुरालाई सामान्य रुपमा बुझ्ने भइसकेका छैनन्। उनीहरुलाई कस्तो मानसिक असर पर्ला सोच्दासोच्दै उषा तनावमा पुग्छिन्। जीपीको बिहेको खबरले सबैभन्दा विक्षिप्त उनकी छोरी बनेकी थिइन्।

आफ्नो बुबाको बिहेको खबर आमालाई सुनाउँदै उनकी छोरीले भनेकी थिइन्, ‘मामु, आज ड्याडीको बिहे रे, यही घरमा भित्र्याउने रे। हजुर यहाँ नबस्नुस्।’

यो गत मंसिर १९ गते बिहानको कुरा थियो।

त्यसपछि उषा आफ्ना दुई छोराछोरी लिएर दुई दिन माइतीमा चुपचाप बसिन्। दुई दिन उनको दिमागमा बारम्बार एउटै कुरा खेलिरह्यो, ‘छोराछोरीको मानसिकतामा कस्तो असर पर्ला? एउटै घरमा हामी कसरी बस्नु?’

अप्ठेरोको बाबजुद उषालाई त्यही घरमा फर्किनुपर्ने बाध्यता थियो। बाटोमै भेटिएका बाबुसँग छोरीले दुखेसो पोखिन्, बाबु कुनै जवाफ नदिई हिँडे। उषासँग पनि छोरीलाई दिने जवाफ थिएन।

भक्तपुर जिल्ला अदालतले जेठ २६ मै सम्बन्धविच्छेद र अंश मुद्दाको फैसला गरेको हो। तर सम्बन्धविच्छेद कार्यान्वयन भएर जीपीले अर्को विवाह गर्न भ्याए।

अंश मुद्दाको किनारा भने लाग्न सकेको छैन। अंश मुद्दा किनारा नलागेकै कारण उषा जीपी बसेकै घरको तल्लो फ्ल्याटमा बस्दै आएकी छिन्। भक्तपुर जिल्ला अदालतले गरेको सम्पत्ति बाँडफाँटको फैसला चित्त नबुझेपछि जीपीले उच्च अदालतमा पुनरावेदन दिएका छन्। जीपीले पुनरावेदन गरेको यो मुद्दाको किनारा भने लागेको छैन।

अंश मुद्दाको फैसला नहुँदै आफू रहेकै घरमा जीपीले अर्की श्रीतमी भित्र्याएपछि उषाले आफूमाथि अन्याय भएको बताएकी छिन्। उनी भन्छिन्, ‘पूर्वपतिबाट मैले एक पैसा पनि अंश पाएकी छैन। म अन्यायमा परेँ। मलाई दोस्रो विवाहमा आपत्ति छैन तर अंशबण्डा हुनुनुपर्छ।’

सम्बन्धविच्छेदको मुद्दा किनारा लागिसकेको अवस्थामा अर्को विवाह गर्न पाउने कानुनी व्यवस्था छ। कुनै पनि महिलाले अंशसहितको सम्बन्धविच्छेद मुद्दा दायर गरेकोमा अंश प्राप्त हुनेगरी सम्बन्धविच्छेद हुने फैसला भई अंशका हकमा मात्र चित्त नबुझी पुरुषले पुनरावेदन गरेको र महिलाले सुरु अदालतको फैसला चित्त बुझाइ बसेको अवस्थामा दुवैले सम्बन्धविच्छेदलाई स्वीकारेको देखिन्छ। यस अवस्थामा पतिपत्नीको सम्बन्धविच्छेद भएको मानिन्छ।

यस सम्बन्धमा मुलुकी देवानी संहिता, २०७४ को पारिवारिक कानुनको विवाह सम्बन्धी व्यवस्थाको दफा ८२ (ख) ले ‘कानुन बमोजिम पतिपत्नीको सम्बन्ध विच्छेद भएमा’ वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने उल्लेख छ। यसरी वैवाहिक सम्बन्ध अन्त्य भइसकेपछि दफा ८३ (क) ले ‘दफा ८२ बमोजिम पति पत्नीबीच वैवाहिक सम्बन्ध अन्त्य भएमा’ पुरुष वा महिलाले पुनः विवाह गर्नसक्ने व्यवस्था गरेको छ। यसरी हेर्दा जीपीको पुनः विवाह कानुनी देखिन्छ। तर व्यवहारिक रुपमा भने आफूमाथि अन्याय भएको उषाको गुनासो छ।

उषा भन्छिन्, ‘कानुनी रुपमा विवाह गर्न पाउने उहाँको अधिकार हो। तर मेरो बच्चाको अगाडि यही घरमा अर्को मान्छे नभित्र्याएको भए हुन्थ्यो भन्ने लाग्छ। छोराछोरीकै अगाडी अर्को श्रीमती ल्याएर नराखेको भए हुन्थ्यो भन्ने मेरो भित्री चाहाना हो।’

उनले आफूलाई व्यावहारिक रुपमा पनि छुट्याइदिएको भए छोराछोरीलाई मानसिक असर पर्नेगरी नबस्ने बताएकी छिन्।

‘लामो समय हिंसाको सिकार भएँ’
झट्ट हेर्दा उषा र जीपीलाई आदर्श जोडीका रुपमा हेरिन्थ्यो। २०५९ साल वैशाख २६ गते प्रेम विवाह गरेका उषा र जीपीका १७ वर्षकी छोरी र ८ वर्षका छोरा छन्। विवाहको १६ वर्षसम्म सुमधुर सम्बन्ध बिताएको यो दम्पतीको २०७५ सालबाट मनमुटाव सुरु भएको हो। त्यसयता उषाले विभिन्न खाले हिंसाको सिकार हुँदै आएको बताएकी छिन्।

तर, सोमबार जीपीको दोस्रो बिहेको खबर सार्वजनिक हुनु अघिसम्म उनले आफूले खपेको हिंसाको संकेत दिएकी थिइनन्।

सम्बन्धविच्छेदका लागि बन्द इजलासमा जति भन्नु पर्थ्यो, त्यति नै भनिन्। अन्यायमाथि थप अन्याय भएपछि बल्ल उषाले आफ्नो पीडाका बारेमा बताएकी छिन्। उनी भन्छिन्। ‘सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि मैले झन् धेरै मानसिक र शारीरिक यातना खेप्नु पर्यो।’

उषाले २०७६ साल ११ असारमा अंशबण्डासहित सम्बन्धविच्छेद गरिपाऊँ भनेर मुद्दा हालिन्। यो मुद्दाको फैसला आउन ३ वर्ष लाग्यो। यो ३ वर्ष उषाले जीपीसँगै बसेर मुद्दा लडिन्। यो ३ वर्षमा उषाको चरित्रमाथि पटकपटक आक्रमण भयो।

भन्छिन्, ‘एउटै घरमा बसेर कानुनी लडाइँ लड्न एकदमै गाह्रो हुँदो रहेछ।’

यसबीचमा कयौं पटक मेरो घरमा नबस्, निस्केर गइहाल भनेर जीपीले कुटेको उनको भनाइ छ। घरेलु हिंसाको मुद्दा लिएर प्रहरीकोमा जाँदा प्रहरीले हिंसाको प्रमाण मागेको उनले बताइन्।

हिंसा सहेर कानुनी लडाइँ लडेकी उषाले त्यही कुरा स्वीकार गरिन्, जे अदालतले फैसला गरिदियो। तर अदालतले फैसला गरेअनुसार उषाले अंश पाएकी छैनन्।

जीपी भने यो विषयमा तत्काल प्रतिक्रिया नदिने बताउँछन्। कानुनी रुपमा अघि बढेकाले यो सबै प्रतिक्रियालाई महत्व नदिने उनले बताउँदै आएका छन्।

यता उषा भने जीपीको यो व्यवहारले छोराछोरी मानसिक तनावमा रहेको बताउँछिन्। भन्छिन् ‘एकै घरको बास छ। एउटै सिँढीबाट हिँड्नु पर्छ। छोराछोरीसँग उनीहरुको जम्काभेट भइरहन्छ। छोरीले यी सबै कुरा बुझन् सक्ने भए पनि छोरा सानै उमेरको छन्। उसले यो कुरा स्वीकार गर्न सकिरहेको छैन।’

स्कुल र समाजका मानिसहरुले ‘तिम्रो घरमा स्टेपमम हुनुहुन्छ रे हो भनेर गरेका प्रश्नले उनी झन् धेरै विक्षिप्त बनेको उषा सुनाउँछिन्। छोराछोरीको मानसिक स्वास्थ्यलाई ख्याल गर्दै अलग बस्न चाहन्छिन्। उनले उक्त घरबाट अलग हुनका लागि पनि अदालतको फैसला कार्यान्वयन हुनुपर्ने उषाको तर्क छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com