एलन मस्क : खर्ब गुमाउँदा पनि विश्वकै धनी

-


     नेपालय न्युज    
     मंसिर २२ गते २०७९


सान फ्रान्सिस्को (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी तथा विधुतीय सवारी साधन निर्माता टेस्ला इंक र माइक्रो ब्लगिङ वेबसाइट ट्विटरका मालिक एलन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन् ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले धमाधम ब्याजदर बढाइरहेको अनि आर्थिक मन्दीको भय बढिरहँदा घरेलु प्रविधि कम्पनीहरुको शेयर तीव्र कमी आइरहेको छ । बुधवार पनि प्रविधि क्षेत्र रातोमा आएपछि केही क्षणका लागि मस्कको सम्पत्ति बुधवार फ्रान्सेली लक्जरी कम्पनी लुँई भिँटोका सीईओ बर्नार्ड आर्नोको भन्दा तल झरेको थियो ।

फोब्र्सको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार उक्त दिन केही बेरका लागि नेटवर्थमा मस्क भन्दा आर्नो अगाडि थिए । बुधबार मध्यान्नतिर आर्नोको नेटवर्थ १ खर्ब ८५ अर्ब ८ करोड डलर थियो भने मस्कको कुल सम्पत्ति घटेर १ खर्ब ८५ अर्ब ७ करोड डलरमा आएको थियो ।

यो वर्ष शुरु भएयता मस्कले झन्डै १ खर्ब डलर बराबरको सम्पत्ति गुमाइसकेका छन् । मस्कको अधिकांश सम्पत्ति टेस्लाको शेयरमा छ । टेस्लाको शेयरमूल्य घटेपछि मस्कको नेटवर्थ ओरालो लागिरहेको छ । कुनै समय मस्कको नेटवर्थ ३ खर्ब माथि थियो ।

यो वर्ष १ खर्ब डलर गुमाउँदा पनि मस्क विश्वकै सर्वाधिक धनीकै सूचीमा माथितिरै छन् । बुधवार टेस्लाको शेयरमूल्य ४ प्रतिशतले घटेको थियो । योसँगै कम्पनीको बजार पूँजीकरण ५ खर्ब ४१ अर्ब डलरमा आएको छ । यो वर्ष शुरु भएयता टेस्लाको शेयर मूल्य ५७ प्रतिशतले घटिसकेको छ ।

मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्ने प्रस्ताव गरेयता टेस्लाको शेयर मूल्यमा उतारचढाव आइरहेको छ । ट्विटर किन्न चाहिने रकम मस्कले टेस्लाको शेयर बेचेर जुटाउने आशंका बढिरहँदा शेयर ओरालो लागेको थियो । ट्विटरमा उनको अधिकांश ध्यान केन्द्रित भइरहँदा टेस्लाका केही लगानीकर्ताहरुले टेस्लाको सम्भावनाबारे प्रश्न उठाइरहेका छन् ।

फोब्र्सको सूचीको शीर्ष स्थानबाट मस्क झरेपछि अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा भने बुधवार मस्क विश्वकै सर्वाधिक धनीमा यथावत् थिए । सो सूचीमा भने उनी एलभीएमएचका सीईओ र अध्यक्ष भन्दा १४ अर्ब बढी धनी थिए ।

अर्नोलाई आधुनिक लक्जरी फेसन उद्योगको गाडफादर मानिन्छ । उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह एलभीएमएचका संस्थापक अध्यक्ष र सबैभन्दा ठूलो शेयरधनी हुन् । गएको वर्ष अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सीईओलाई उछिनेर मस्क सर्वाधिक धनी बनेका थिए ।

बुधबार फोब्र्सको सूचीमा १ खर्ब ३४ अर्ब ८० करोड डलर नेटवर्थसहित भारतीय व्यापारी गौतम अदानी तेस्रो स्थानमा थिए भने एमाजनका बेजोस १ खर्ब ११ अर्ब ३० करोड डलर नेटवर्थको साथमा चौथो स्थानमा छन् । सन् २०२१ मा आर्नो कयौं पटक फोब्र्सको रियलटाइम इन्डेक्समा शीर्ष स्थानमा उक्लिएका थिए ।

एलभीएचएम समूहमा लुँई भिँटो, जिभान्सी, केन्जो लगायत दर्जनौं चर्चित ब्रान्ड छन् । विश्व अर्थतन्त्र लड्खडाइरहेको भएपनि एलभीएमएचले निरन्तर सुदृढ आम्दानी र मुनाफा गर्दै आएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com