
पोखरा । गण्डकीमा ०७४ को निर्वाचनबाट समानुपातिकमा एक–एक सिट पाएर साख जोगाएका दुई दल राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी (तत्कालीन नयाँ शक्ति पार्टी नेपाल) प्रदेशसभाको दोस्रो निर्वाचनमा बाहिरिएका छन् ।
चित्रबहादुर केसी नेतृत्वको राजमो र बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट अघिल्लो निर्वाचनमा एक–एक जना समानुपातिक सांसद बनेका थिए ।
तर, पाँच वर्षमा नै जनमोर्चा बाहिरियो । बाबुराम भट्टराइको पार्टीले भने यसपटक माओवादी केन्द्रलाई समर्थन गर्यो । माओवादीलाई समर्थन गर्दा अघिल्लो निर्वाचनमा समानुपातिकमा तीन सिट पाएको माओवादीको समानुपातिक मत बढ्दा चार सांसद आउने आकलन थियो । तर, त्यसो हुन सकेन ।
यी दुई दल आउट हुँदा राप्रपाले भने गण्डकीमा दुई सिट पाएको छ । प्रत्यक्षमा कुनै सिट नजितेपनि राप्रपाले समानुपातिकमा दुई सिट पाएको हो ।
ठूला दल एमाले, कांग्रेस र माअोवादी केन्द्रको समानुपातिकमा अघिल्लो निर्वाचनको तुलनामा मत घटेको छ ।
गण्डकीका २४ समानुपातिक सिटमध्ये एमालेले १०, कांग्रेसले ९ र माओवादीले तीन सिट जितेको छ ।
मत संख्याका आधारमा एमालेले तीन लाख ६७ हजार ९८९, कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादीले एक लाख १६ हजार ९४५ मत पाए ।
चौँथो बनेको राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एस ले १५ हजार ७६ र जनमोर्चाले १४ हजार ९४० मत पाएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।
गण्डकीमा कुल खसेको मत मध्ये ९ लाख ८५ हजार ८०२ मत सदर भएको थियो । प्रदेशसभामा १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । यो भनेको १४ हजार ७८७ मत हुन आउँछ । थ्रेसहोल्ड कटाएपनि हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाले भने सांसद पाएनन ।
बाह्रखरीबाट