खर्च घटाउन एमाजनले २० हजार कर्मचारी निकाल्ने


     नेपालय न्युज,     
     मंसिर १९ गते २०७९


सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले २० हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । आगामी महीनाहरुमा कम्पनीले कयौं विभागहरुबाट सो संख्यामा कर्मचारी कटौती गर्न लागेको हो । यसमा कम्पनीमा कार्यरत ग्रेड १ देखि ७ सम्मका कर्मचारी प्रभावित हुने बताइएको छ । केही समय अगाडि न्यूयोर्क टाइम्सले भने कम्पनीले १० हजार कर्मचारीलाई कामबाट निकाल्न सक्ने बताएको थियो ।

गएको केही दिनमा कम्पनीले व्यवस्थापकहरुलाई कार्य प्रर्दशनमा समस्या देखिएका कर्मचारी पहिचान गर्न भनेको छ । २० हजार कर्मचारी भनेको विश्वभर एमाजनमा कार्यरत कर्मचारीको १ दशमलव ३ प्रतिशत हुनेछ । विश्वभर अस्थायी कर्मचारी समेत गर्दा एमाजनमा १५ लाख कर्मचारी कार्यरत् छन् । कम्पनीले जागिरबाट निकाल्ने कर्मचारीहरुलाई २४ घन्टे नोटिस दिएर जागिर बाट निकाले बापतको थप भुक्तानी पनि दिनेछ । यो कम्पनीको इतिहासको अहिलेसम्मकै ठूलो कटौती हुने बताइएको छ ।

कर्मचारी कटौतीका लागि भनेर विभाग वा ठाउँ तोकिएको छैन । सबै व्यवसाय र विभागमा कटौती हुने स्रोतले बताएको छ । कम्पनीले कोरोना भाइरसको महामारीको समयमा अनलाइन शपिङको माग बढ्दा ठूलो संख्यामा कर्मचारी थपेको थियो । पछिल्लो समय कम्पनीको आम्दानी र मुनाफा घटिरहेकै समयमा खर्च कटौतीका लागि कम्पनी कर्मचारी निकाल्न थालेको स्रोतको भनाइ छ ।

एमाजनका सीईओ एन्डी जेसीले नोभेम्बर १७ मै कर्मचारी कटौतीको पूष्टि गर्दै कर्मचारीहरुलाई पत्र पठाएका थिए । यद्यपि, कति कर्मचारीले जागिर गुमाउनेछन् भन्ने चाँहि उनले खुलाएका थिएनन् । अहिले अमेरिकी अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अनि गएको वर्ष ठूलो संख्यामा कर्मचारी थपेकोले यस वर्ष कर्मचारीको कार्य सम्पादनको समीक्षा थप कठिन भएको जेसीले पत्रमा भनेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com