
अमेरिकी वायु सेनाका लागि बनाइएको हालसम्मकै अत्याधुनिक आणविक बमवर्षक विमान बी–२१ रेडर सार्वजनिक गरिएको छ। निर्माता नर्थ्रोप ग्रुमन कर्पले क्यालिफोर्नियामा आयोजित एक समारोहमाझ सो विमान अनावरण गरेको हो।
आफ्नो पूर्ववर्ती बी–२ बमवर्षकजस्तै आकार भएको यो विमानले विश्वको जुनसुकै कुनामा परम्परागत तथा आणविक हतियार पुर्याउन सक्छ। उड्दाउड्दै इन्धन भर्न सकिन्छ।
सन् २०१० मा यो विमानको लागत प्रतिगोटा ५५ करोड डलर पर्ने आकलन गरिएको थियो। जसको आजको मूल्य ७५ करोड डलर हुन जान्छ।
अमेरिकी वायुसेनाले कम्तीमा एक सय वटा बी–२१ किन्ने योजना बनाएको छ। त्यसपछि उसले विस्थारै बी–१ र बी–२ बमवर्षक विमानलाई विस्थापित गर्नेछ।
बोइङ र लकहिड मार्टिनको संयुक्त टोलीलाई पछि पारेर नर्थ्रोपले यो बमवर्षक विमानको ठेक्का हात पारेको थियो।
अन्य विमानसँग सजिलै जोडिने तथा भविष्यमा निर्माण हुने हतियार पनि राख्न मिल्ने भएकाले बी–२१ लाई सो कम्पनीले छैटौं पुस्ताको विमान भनेको छ।
हाल यस्ता ६ वटा विमान निर्माणको विभिन्न चरणमा रहेको जनाइएको छ। जसले २०२३ को मध्यसम्ममा पहिलो उडान भर्ने जनाइएको छ।
यो कार्यक्रममा कम्पनी, उसका साझेदार र वायु सेनाका करिब ८ हजार जनाले काम गरिरहेका छन्। रोयटर्स