वामपन्थी शक्तिलाई एकजुट बनाएर एमालेकै नेतृत्वमा सरकार : पृथ्वीसुब्बा

-


     नेपालय न्युज    
     मंसिर १६ गते २०७९


नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन्।

सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरुलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाई थियो।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए।

मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो।

उपमहासचिव गुरुङले भने, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ। अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अव शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ। प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो। तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ। यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आईरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं। त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ।’

उनले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबी समेत गरे। तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यक्ता उनले औंल्याए।

उनले भने, ‘अबको पावर सेयरिङमा एमालेको महत्वपूर्ण भूमिका हुनुपर्छ। त्यो काममा हामीले सफलता प्राप्त गर्नुुपर्छ। त्यसलाई गम्भीरतापूर्वक ग्रहण गरेर हामी सात वटै प्रदेशमा सरकार बनाउन सक्छौं। संघीय सरकार पनि बनाउन सक्छौं हामी। त्यो लक्ष्य पूरा गर्नका लागि दिनरात नभनी हाम्रो पहलकदमी सुरु हुनुुपर्छ।’

उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पुर्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको समेत दोहोर्याए।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com