
काठमाडौं। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटरलाई विज्ञापन दिन बन्द गरेको छ । एप्पलले बिना कारण ट्विटरलाई विज्ञापन दिन बन्द गरेको ट्विटरका नयाँ मालिक तथा संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले आरोप लगाएका छन् । यो आरोप लगाएपछि कम्पनीले आफ्नो एप स्टोरबाट ट्विटरलाई हटाउने धम्की दिएको थियो ।
मस्कले एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रुपमा ट्विटहरु गरेर एप्पल विरुद्ध अभिव्यक्ति दिएका थिए । विज्ञापन कम गरेको भन्दै उनले एप्पलले अमेरिकामा वाक स्वतन्त्रतादेखि रिस उठेको हो ? भन्ने प्रश्न गरेका थिए । कम्पनीले ट्विटरमै ‘फ्री स्पीच सस्पेन्सन’सम्बन्धी फाइल प्रकाशित गर्ने पनि उनले बताएका थिए ।
मस्कले एप्पलका प्रमुख कार्यकारी अधिकारी (सीईओ) टिम कूकलाई नै ट्याग गरेर ‘यो के भइरहेको छ ?’ भन्ने प्रश्न गरेका छन् । तर सो ट्यागको उत्तर एप्पलले दिएको छैन । मस्कका अनुसार एप्पलले कन्टेन्ट मोडरेशनको माग गर्दै कम्पनीमाथि दबाब दिइरहेको थियो । एप्पलले यस्तो खालको कारबाही गरेको यो पहिलो पटक भने होइन ।
यसअघि पनि पटक पटक एप्पलले अन्य कम्पनीमाथि यस्ता नियम थोपर्ने कोशिशमा ती कम्पनीको एपलाई एप स्टोरबाट हटाएको थियो । ती कम्पनीहरुले एप्पलको माग पूरा गरेपछि मात्रै उनीहरुको एपलाई एप स्टोरमा पुनः प्रवेश गराइएको थियो । मस्कले एप स्टोरमा एप डाउनलोड गर्दा तिर्नु पर्ने शुल्कको पनि आलोचना गरेका छन् ।
अर्को ट्विटमा भने उनले एप स्टोरको माध्यमबाट किनिने चिजमा गोप्य रुपमा ३० प्रतिशत कर लगाउने गरेको थाहा छ भनेर प्रश्न गरेका छन् । २७ अक्टोबरमा ट्विटर किन्ने बित्तिकै मस्कले कम्पनीका सीईओ पराग अग्रवालसमेत शीर्ष अधिकारीहरुलाई बर्खास्त गरेका थिए । एक हप्ता पनि नबित्दै उनले कम्पनीका झन्डै आधा कर्मचारीलाई निकालेका थिए ।
एप्पलमाथि किन खनिए मस्क ?
ट्विटर किनेयता कम्पनी र उनी हेडलाइनमा नछाएको, विवादमा नघेरिएको दिन नै खोज्न मुश्किल छ । यसमा अर्को अध्याय थपिएको छ । मस्क सक्रिय ट्विटकर्ता हुन् । मस्कले एकपछि अर्को गर्दै एप्पलमाथि आरोप लगाइरहँदा कम्पनीले भने कुनै पनि प्रतिक्रिया दिएको छैन । एप्पलले ट्विटरलाई एप स्टोरबाट हटायो भने यसले कम्पनीमा ठूलो असर पार्न सक्छ । यसले ट्विटरको सब्सक्रिप्शन शुल्क उठाएर आम्दानी गर्ने मस्कको योजनामा ठूलो धक्का लाग्नेछ ।
एप्पलले ट्विटरलाई एप स्टोरबाट हटाउने कुरा कसरी भन्यो भन्नेबारे मस्कले केही खुलाएका छैनन् । कन्टेन्ट मोडरेशनको मामिलामा कम्पनीले यस्तो गर्न सक्ने संकेत भने उनले दिएका छन् । ट्विटरको आम्दानीका लागि यो एप्पल र गूगलमा निर्भर छ ।
अहिले एप्पल (वा गूगल) सँग झगडा गर्नु मस्कको लागि राम्रो होइन । सब्सक्रिप्शन शुल्क उठाएर कम्पनीको भविष्य उज्जवल बनाउने सपना देखिरहेका मस्कको सपनामा यसले तुषरापात गर्न सक्छ । एप्पल र गूगलमाथि कम्पनीको निर्भरता मस्कले सोचेभन्दा निकै धेरै छ । ट्विटरमा अधिकांश प्रयोगकर्ता एन्ड्रोइड वा आईओएसबाटै आउने हुन् । एप्पलको एपस्टोरबाट किनेको सामानमा पहिलो वर्ष ३० प्रतिशत शुल्क तिर्नु पर्छ । दोस्रो वर्षदेखि भने यो शुल्क १५ प्रतिशतमा घट्छ ।
गूगलमा भने यो शुल्क शुरुदेखि नै १५ प्रतिशत छ । एप होष्ट गरेको वा एपलाई आफ्नो एपस्टोरमार्फत लाखौं करोडौं प्रयोगकर्तामाझ पुरयाएबापत एप्पल र गूगलले सो शुल्क लिने गरेका हुन् । यस्तो शुल्क रातारात हटाउँदैनन् । मस्कले चाहे अनुसार यिनीहरु घट्दैनन् । ट्विटरलाई आफूले सोचेको जस्तो नाफामुलक बनाउन मस्कले खर्च सक्दो चिमोट्ने पर्नेछ ।
एप स्टोर बिना ट्विटर र मस्कले यस्तो गर्न सक्लान् ? एप स्टोर भएन भने यो नेटफ्लिक्स र एमाजन प्राइम जस्तो वेबमा मात्रै चल्ने विकल्प बन्ने छ । यो दृश्यले ट्विटरलाई काम गर्छ त ? गर्न पनि सक्ला । तर सब्सक्रिप्शन बढाउन थप काम गर्नुपर्नेछ । एजेन्सी